धरान: होली पर्वको अवसरमा धरान १० स्थित कफि पव एण्ड रेष्टोमा होली हङ्गगामा लेडिज नाइट हुने भएको छ । 

कफि पवले शुक्रवार साँझ होली पर्वको अवसरमा चार जना महिला कलाकारहरुको एक साथ प्रस्तुती सहित होली हङ्गामा कार्यक्रम गर्न लागेको हो । शुक्रवार साँझ हुने सांगीतिक कार्यक्रममा धरानकी खेसेहाङ्गमा लिम्वु, दिव्य राई, सुमी सुनुवार र जुनकिरी गुरुङ्गको प्रस्तुति रहने सञ्चालिका रोमकुमारी लिम्बुले बताइन् । चारै जना कलाकार लामो समय देखि संगीतमा लागेका छन् । उनीहरुको कलाकारितालाई प्रोत्साहन गर्न होली पर्वको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।  

चारै जना कलाकारहरु धरान म्युजिक एकेडेमीका विद्यार्थी हुन्। उनीहरुलाई विनायक राईले संगीत शिक्षा दिइरहेका छन् । धरान १० निवासी खेसेहाङ्गमा लिम्वु सानैदेखि गायनको सौखिन भएपनि घर व्यवहारको कारण यस क्षेत्रमा लाग्न सकेकी थिइनन् । केही समय देखि समय निकालेर उनले संगीत शिक्षा लिइरहेकी छिन् । 

यस्तै, धरान १५ निवासी दिव्य राई लामो समय हङकङमा बसेकी थिइन् । एक दशक हङ्गकङ्ग बसेर एक वर्ष अघि घरायसी कामले घर आएकी हुन् । संगीतमा रुचि भएको कारण उनले पनि केही समयदेखि शिक्षा लिइरहेकी छिन् । यसैगरि, धरान १० निवासी सुमि सुनुवार धरानको कलाकारीतामा उदाउदै गरेकी कलाकार हुन् । उनले धरानको धेरै स्टेजमा आफ्नो प्रस्तुती दिइसकेकी छिन् । संगित शिक्षा लिइरहेकी उनी होलीको अवसर पारेर आयोजित होली हङ्गामा कार्यक्रको तयारी गरिरहेको बताउँछिन् । 

     संखुवासभाको खाँदवारी घर भएकी जुनकिरी केहि समय अघि मात्र धरान आएकी हुन् । उनको पनि गायनमा सौख छ । उनी पनि केही समय अघिदेखि धरानमा संगीत शिक्षा लिइरहेकी छिन् ।