धरान: सिंगापुर लाहुरेसँग विवाह गरेका एक युवतीको सोमबार धरानमा रहस्यमय मृत्यु भएको छ ।

धरान ११ मा हिजो बिहान करिब १० बजेतिर २२ बर्षीया सोनी हाङ्मा लिम्बुको मृत्यु भएको हो । उनले आफ्नै कोठामा रहेको पंखामा सलले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । मृतकले करिब ३ महिना अघि मात्र सिंगापुर लाहुरेसँग विवाह गरेका थिए । हिजो आत्महत्या गरेको भनिएकी लिम्बुको शव आज बिहान मात्र सर्जमिन मुचुल्का उठाएर प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ ।

मृतकको माइती घर तेह्रथुम जिल्ला हो । माइती पक्षले आफुहरु नआएसम्म शव नउठाउन भनेपछि हिजो दिनभर र रातभरि प्रहरीले सुरक्षा दिएर बसेको थियो । ‘मृतकको माइती पक्ष आज मात्र आइपुगेकोले प्रहरी त्यही बसेर लाश राखियो, आज माइती पक्ष आइपुगेपछि मुचुल्का उठाएर लगिएको छ,’प्रहरी निरीक्षक हेमराज ओलीले भने । 

dead 1

प्रहरी निरीक्षक ओलीका अनुसार प्रहरी पुग्दा मृतकको शव खाटमा राखिएको अवस्थामा थियो । यद्यपी, आत्महत्या हो कि हत्या हो भनेर अनुसन्धान गरिने उनले बताए । ‘पहिला आत्महत्या हो कि हत्या हो भनेर हेछौं । अरु केही कुरा खुल्यो भने दुरुत्साहन मुद्दा पनि चल्छ,’प्रहरी निरीक्षक ओलीले भने । उनका अनुसार हिजो बिहान खाना खान बोलाउदा ढोका नखुले पछि सबै मिलेर ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा देखेको परिवारले बताएका छन् । ‘प्रहरी घरमा पुग्दा भने शव खाटमा थियो,’ प्रहरी निरीक्षक ओलीले भने ।

धरानको वडा नं ११ का अध्यक्ष बावुलाल लामाले आत्महत्याको खबर पाएपछि हिजो आफु पुग्दा शव खाटमा सुतेको अवस्थामा भेटिएको बताए । माइती पक्षले आफुहरु नआई केही नगर्नु भनेकोले आज मात्र शवको सुर्चमिन मुचुल्का उठाएको अध्यक्ष लामाले जानकारी दिए । ‘म पुग्दा लाश खाटमा राखिसकेको थियो, पंखामा सल थियो,’उनले भने,‘तेह्रथुमबाट आज माइती पक्ष आइपुगे । उहाँहरुले टर्चर दिएको कुरा पनि गर्नुभयो, के भएको हो प्रहरीले हेर्छ ।’