धरान: कोरोना भाइरसको कारण विभिन्न वस्तुको कृत्रिम अभाव सृर्जना भइरहेको जनगुनासो आएपछि धरान उपमहागनरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा एक टोली आज शुक्रबार दिउँसो बजार अनुगमनमा निस्किएको थियो ।

ग्याँस डिलर, भाटभटेनी सुपर मार्केट र पेट्रोल पम्प अनुगमन सकेर टोली धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअघिको मेकिडल पसल अनुगमनमा पुग्यो । उपमेयर भण्डारीको टोली शुरुमै गार्जियन फर्मामा प्रवेश गर्यो । त्यहाँका सञ्चालककी छोरी र कर्मचारीहरुले मास्क करिब डेढ महिनादेखि सप्लायर्सबाट नै नआएकोले अभाव भएको, आफुहरुसँग पनि एउटा पिस पनि नभएको बताए । सञ्चालक र कर्मचारीहरुले सबैतिर मास्क अभाव भएको बताए ।

तर, अनुगमन टोली जब गार्जियनको गोदामभित्र अनुगमन गर्न प्रवेश गर्यो, तब छक्क परे । झण्डै एक, डेढ महिनादेखि मास्क आउन छोडेको र एउटा पनि नभएको भनेता पनि अनुगमन टोलीले गोदाममा एक कार्टुन मास्क लुकाएको फेला पार्यो । एक कार्टुनभित्र ३८ डब्बा थियो । एउटा डब्बामा ५० पिस मास्कको दरले त्यहाँ १९ सय मास्क भेटियो । लुकाएको मास्क भेटिएपछि अनुगमन टोलीले मुचुकल्का उठाएर जफत गर्यो । उपमेयर भण्डारीले मास्क छैन भनेता पनि लुकाएको अवस्थामा भेटिएकोले मुचुल्का उठाएर जफत गरिएको र स्पष्टीकरण सोधेर कानुन वमोजिम आवश्यक कारबाही गर्ने बताइन् ।