धरान:कोरोना संक्रमित भोजपुरको हतुवागढीका युवा ८ दिनसम्म धरान, इटहरी, चतरा, झुम्कालगायत सुनसरीको विभिन्न शहर घुमेको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार ती ब्यक्ति फागुन ३० गते साउदीबाट काठमाण्डौं उत्रिएका थिए । सोही दिन उनी नाइट बस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट उनी चतरा पुगे । चतरामा उनको श्रीमति थिइन् । त्यसपछि श्रीमतिसँग सार्वजनिक बस चढेर चतरालाइन आएको पनि खुलेको छ । त्यहाँबाट उनीहरु टेम्पोमा चढेर धरान घुमेको खुलेको छ । ‘श्रीमतिसँग धरानमा टेम्पोमा घुमेको थिए,’ती युवाले भोजपुर प्रहरीलाई भनेको छ ।

ती युवा धरान मात्र घुमेनन्, उनीहरु सार्वजनिक बस चढेर इटहरी पनि पुगे । त्यसपछि ८ दिनसम्म धरान, इटहरी, झुम्का, चतरा आउजाउ गरिरहेका थिए । ‘उसको भनाईको आधारमा ८ दिनसम्म धरान, इटहरी, झुम्का, चतरा घुमेको देखिन्छ,’प्रहरी स्रोतले भन्यो । उनी ९ गते मात्र ससुराली उदयपुर गएको देखिन्छ । भोजपुरको हतुवागढीका ती युवाको ससुराली उदयपुरको मैनामनी हो । त्यहाँबाट उनी मोटरसाइकलमा हतुवा पुगेका थिए । गाउँमा पुगेर उनी भलिवल खेल्न, बजार डुल्न गएको पनि खुलेको छ ।

उनको २ दिनअघि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि उनको पिसिआर परीक्षण गर्न स्वाब धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । उनको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको छ ।