धरान: १२३ औं स्थापना दिवसको अवसरमा पुष २० गतेदेखि २४ गतेसम्म भव्यतापुर्वक सम्पन्न भएको धरान उत्सवमा ९ लाख ३८ हजार आम्दानी भएको छ । तर, उत्सवमा कुल खर्च भने २४ लाख ७० हजार भएको छ । 

आइतबार बसेको कार्यपालिका बैठकमा प्रस्तुत भएको धरान उत्सवको लागि बजेट व्यवस्थापन सम्बन्धी एजेण्डामा कार्यपालिका सदस्यहरुले आम्दानीबारे प्रश्न गरेका थिए । बैठकमा राजश्व शाखा प्रमुख खगेन्द्र खतिवडाले स्टलहरुबाट ६ लाख ३८ हजार ५ सय रुपैया राजश्व आम्दानी भएको जानकारी दिए । यस्तै रोटेपिङ, नाउ, ट्रेनलगायत खेलतमासाहरुबाट ३ लाख रुपैया आम्दानी भएको पनि उनले बताए । उक्त आम्दानी राजश्वमा दाखिला भइसकेको पनि उनको भनाई थियो ।

mayor-upamayor

स्थापना दिवस मनाउन १० लाख रुपैया मात्र बजेट विनियोजना गरिएको थियो । तर २४ लाख ७० हजार खर्च अनुमान मेयर साम्पाङबाट निर्णय भएको थियो । सोही निर्णय अनुमोदनको लागि अपुग बजेट रकमान्तर गर्ने प्रस्ताव पेश भएको थियो । जसअनुसार मेयर कोषबाट ४ लाख, उपमेयर कोषबाट ३ लाख घटाउने प्रस्ताव थियो ।

यस्तै कला, साहित्य, संगीत तथा नृत्यबाट २ लाख २० हजार, धार्मिक क्षेत्र प्रर्वद्धन कार्यक्रमबाट ३ लाख, पर्यटन प्रर्वद्धन सम्बन्धी कार्यक्रम (उत्सव, महोत्सव)बाट २ लाख र नगर क्षेत्रका खोला, खहरे, खोल्सी, सार्वजनिकस्थलमा सरसफाई अभियानको ५० हजार बजेट घटाएर धरान उत्सवको खर्च व्यवस्थापन गर्ने निर्णय भएको छ ।