धरान: लामो समय रोकिएको डिआइजिपी कप आगामी पुष ९ गतेदेखि आयोजना हुने भएको छ ।
आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब दुई दशकदेखि रोकिएको डिआइजिपी कप आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगिता पुष ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक एवं विद्यालयका समादेशक प्रहरी निरीक्षक सुरेशकुमार हायुले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको नाम ७ औं कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता रहेको छ । २०५८ सालमा शुरुवात भएको प्रतियोगिता छैटौं सँस्करण पछि स्थगित भएको थियो । प्रतियोगिताको ७ औं सँस्करणको नेपाल प्रहरी प्रदेश कार्यालय धरान १३ स्थित फुटबल मैदानमा हुने पनि उनले बताए ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार ५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले ४१ हजार ५ रुपैया नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यसैगरि, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार ५ पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद २ हजार ५ र ट्रफी तथा प्रमाण पत्र पनि दिइने संयोजक हायुले जानकारी दिए । एक जनालाई उत्कृष्ट रिपोर्टर पुरस्कार २ हजार ५ सय ५ रुपैया पनि प्रदान गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
डिआइजिपी कपमा कोशी प्रदेशभरिका १६ विद्यालयका टिम सहभागी हुन पाउने आयोजकले जनाएको छ । टिम दर्ता हुन १६ विद्यालय जो पहिला आउछन्, ती विद्यालय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
विद्यालयले कक्षा १० सम्म अध्ययनरत छात्रहरु खेलाडीकोरुपमा सहभागी गराउन पाउनेछन्, तर उनीहरु एन्फाको यु १७ र यु १८ साथै एन्फाले आयोजना गरेको कुनै पनि लिग नखेलेको हुनुपर्ने आयोजकले प्रष्ट पारेको छ । प्रत्येक टिममा वैकल्पिक खेलाडीसहित १४ जना हुनुपर्ने पनि आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहार एवं प्राचार्य मनिका सुब्बा राई, खेल संयोजक सागर कार्की, इसिए संयोजक सागर लिम्बु, प्रहरी वरिष्ठ नायब निरीक्षक विजयकुमार राई, प्रहरी नायब निरीक्षक शुक्रराज राईको पनि उपस्थिति रहेको थियो ।







