धरान: २० औं ललित–अम्बर डिपो कप–२०८२ को शनिबार तेस्रो दिन चार खेलहरु भएका छन् । 

डिपो माध्यमिक विद्याल धरान १८ को खेल मैदानमा भएको पहिलो खेलमा हिमशिखर बोर्डिङ स्कुल इटहरीलाई नेपाल पुलिस स्कुल धरान १३ ले ६-० गोल अन्तरले पराजित गर्यो । खेलमा पुलिसको तर्फबाट जर्सी ७ का सौगता श्रेष्ठले २ गोल, जर्सी ९ का विनायक निरौलाले २ गोल र जर्सी १३ का भैरव प्रधानले २ गोल गरेका थिए ।

खेलमा म्यान अफ द म्याच पुलिसका सौगात श्रेष्ठ भएका थिए । उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य तथा खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो दिएका थिए । 

यसैगरि, दास्रो खेलमा लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल धरान–१६ ले सडन डेथमा माउण्ड हर्मन इङ्लिस बोर्डिङ स्कुल धरान–१८ लाई हरायो । निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा प्रवेश गरेको थियो । टाइ ब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । माउण्ट हर्मनका युसन विक म्यान अफ द म्याच भएका थिए । उनलाई पत्रकार भोला श्रेष्ठले मायाको चिनो दिएका थिए । 

तेस्रो खेलमा इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल धरान– १७ ले  प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ लाई ३–१ ले पराजित गर्यो । इम्मानुयलको तर्फबाट जर्सी ११ का कबिर सहनीले २ गोल र जर्सी १५ का ओस्कार विकले १ गोल गरेका थिए ।

प्रभातको तर्फबाट जर्सी ७ का बबिन राईले १ गोल गरेका थिए । म्यान अफ द म्यान इम्मानुयलका अनन्त राई भएका थिए । उनलाई डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य तथा खेलकुद  विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो दिएका थिए ।

यसैगरि, अन्तिम खेल देउराली इङलिस बोर्डिङ स्कुल धरान–५ ले युनाइटेड गोर्खा एकाडेमी धरान–१५ लाई ४-० गोल अन्तरले पराजित गर्यो । देउरालीको जितमा जर्सी १० का क्रिस लिम्बूले ३ गोल र जर्सी ७ का सक्सेस लिम्बूले १ गोल गरेका थिए ।  खेलमा देउरालीका क्रिस लिम्बू म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले मायाको चिनो दिएका थिए । 

यी चार खेलसङ्गै नकआउटको पहिलो चरण सकिएको छ । आज आइतबारदेखि क्वाटर फाइनल खेल सुरु हुनेछ । आजको पहिलो दुई खेल प्लेट च्याम्पियनकोलागि हुनेछ भने दुई खेल पहिलो क्वाटर फाइनलकोलागि हुनेछ । प्लेट च्याम्पियन आफ्नो पहिलो खेलमा पराजित भएका विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२ नाम दिइएको हो । प्लेट च्याम्पियनको लागि पहिलो खेल जोलसाया एकाडेमी, धरान–११ र एप्पल मन्टेश्वरी, धरान–११ बीच हुनेछ । यसैगरि दोस्रो खेल सिद्घार्थ शिशु सदन, धरान–१६  र समिट सेकेण्डरी बोर्डिङ स्कुल, धरान–९ बीच हुनेछ । 

पहिलो क्वाटर फाइनल कारमेल हाई स्कुल, धरान–१८ र आयोजक डिपो मावि, धरान–१८ बीच हुनेछ भने दोस्रो खेल नोबेल एकाडेमी धरान–११ र आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ बीच हुनेछ ।

डिपो माध्यमिक विद्यालयका व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललितबहादुर लिम्बू र हालका अध्यक्ष अम्बरबहादुर लिम्बूको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । प्रतियोगितामा विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेताले विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, खेलाडीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुने विद्यालयले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


पराजित विध्यालयहरुबीच हुने दिलकुमार प्लेट च्याम्पियनका विजेता विद्यालयले नगद ३ हजार १ सय ११ रुपैयाँ, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरि उपविजेता विद्यालयले नगद २ हजार १ सय ११ रुपैया, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।