धरान: २० औं ललित–अम्बर डिपो कप २०८२ अन्तर्गतको ‘लेट दिलकुमार प्लेट च्याम्पियनसिप कप–२०८२’ मा हिमशिखर बोर्डिङ स्कुल इटहरीले उपाधि जितेको छ ।
आज (बुधबार) भएको फाइनल खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ लाई सडन डेथमा पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयको खेल र टाइब्रेकरमा पनि खेलको निर्णय नभएपछि सडन डेथमा पुगेको थियो । मुख्य स्पर्धा डिपो कपमा पहिलो खेलमा पराजित भएको टिमहरुबीच लेट दिलकुमार प्लेट च्याम्पियनसिप आयोजना हुदै आएको छ ।
प्लेट च्याम्पियन भएसङ्गै हिमशिखरले नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता प्रभातले नगद २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
विजेता र उपविजेतालाई पुरस्कार भोली (बिहिबार) हुने ललित अम्बर डिपो कपको फाइनल खेलपछि वितरण हुने आयोजकले जनाएको छ । फाइनल खेलमा आयोजक डिपो सेकेण्डरी स्कुल, धरान–१८ र धरान इङ्लिस बोर्डिङ स्कुल, धरान–५ बीच हुनेछ। यो प्रतियोगितामा विजेता विद्यालयले रनिङ शिल्डसहित नगद ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता विद्यालयले शिल्डसहित नगद ७ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
ललित-अम्बर डिपो कपमा पुलि स्कुल तेस्रो
२० औं ललित–अम्बर डिपो कप –२०८२ मा नेपाल पुलिस स्कुल धरान १३ तेस्रो भएको छ । आज तेस्रो स्थानको लागि भएको खेलमा आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान १४ लाई पराजित गर्दै पुलिस तेस्रो भएको हो ।
खेलमा पुलिसले २–० गोल अन्तरले जित हात पारेको थियो । पुलिसको जितमा जर्सी ११ का शुभम लिम्बू र जर्सी ७ का सौगात श्रेष्ठले एक एक गोल गरेका थिए । तेस्रो भएको पुलिस स्कुलले शिल्डसहित नगद ३ हजार १ सय ११ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पुलिस गत बर्षको १९ औं ललित अम्बर डिपो कपमा भने च्याम्पियन टोली हो ।
उक्त खेलमा म्यान अफ द म्याच पुलिसका शुभम लिम्बू भएका थिए । उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य खड्गशम्सेर लिम्बूले मायाको चिनो प्रदान गरेका थिए ।







