धरान: सर्प ! यो शब्द सुन्दैमा आङ सिरिङ्ग हुन्छ । झन् आफ्नै सामुन्ने सर्प देखा पर्यो भने के होला ?

आज शुक्रबार भने महाशिवरात्रिको दिन धरान १४ स्थित पिण्डेश्वर मन्दिर परिसरमा केही व्यक्तिहरु सर्पको माला नै पो लगाइरहेका थिए । अरु बेला सर्प देख्दा परै डराउने ती व्यक्तिहरु आज भने निष्फिक्री सर्पकै माला लगाइरहेका थिए, त्यो पनि गोमनको । तिनै मध्ये एक हुन्, धरान उपमहानगरपालिकाका आन्तरिक लेखा परिक्षक अधिकृत रमेश साह । छोरीसँग शिवरात्रिको दिन पिण्डेश्वर मन्दिर दर्शन गर्न गएका उनले एक व्यक्तिले सर्पको माला लगाएको देखे । उनलाई पनि मला लगाउने इच्छा जाग्यो ।

एक जना जोगीको भेषमा सपेराले सर्प ल्याएका रहेछन् । साह उनको अघि बसे । सर्प ल्याउनेले उनलाई माला लगाइदिए । वरीपरी सर्पको माला लगाएको हेर्ने, फोटो खिच्ने र भिडियो बनाउनेको भिड थियो । सर्पले घरीघरी साहको अनुहारतिर फर्कन्थ्यो, उनी टाउको अलिक घुमाउथे । सर्प उनको शरीर छोडेर फोटो, भिडियो खिच्ने भिडतिर लाग्यो, फोटो खिच्ने भिड तितरबितर भयो । एक जनाको मोवाइल भुँइमै खस्यो । सर्पको माला लगाउने अधिकृत साहले भने,‘अरुले पनि लगाएको देखे, त्यसैले टोक्दैन होला भनेर लगाए । केही जस्तो लागेन ।’