धरान: कोरोना भाइरस(कोभिड १९) को जोखिमप्रति उच्च सतर्कता अपनाउदै मितेरी डेभलपमेन्ट बैंकले आफ्नो साधारणसभा सम्पन्न गरेको छ ।

सरकारको निर्णयको पालना गर्दै बैंकले २५ जना भन्दा कम सेयर धनी सदस्यहरुको उपस्थितिमा शनिबार १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो । धरान मुख्य कार्यालय रहेको बैंकले गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा २१ जना मात्र सेयरधनी सदस्यहरुको उपस्थित रहेका थिए । उनीहरुलाई पनि सेनिटाइजर प्रयोग गरेर मात्र हलमा प्रवेश गराइएको थियो भने कम्तीमा ४ फिटको दुरीमा कुर्सीमा बस्ने व्यवस्था गरिएको थियो । ‘हामीले उच्च सतर्कता अपनाएर साधारण सभा गर्यौं । सेयर धनी सदस्यहरु २१ जना मात्र हुनुहुन्थ्यो । सेनिटाइजर प्रयोग गर्यौं, र कुर्सी पनि ४ फिटको दुरीमा बस्ने व्यवस्था गर्यौं,’बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसीप्रसाद वस्तीले जानकारी दिदै भने ।

प्रोक्सीमार्फत निर्णयहरु पारित

miteri3

कोरोनाको कारण साधारणसभा प्रभावित हुन नदिन बैंकले प्रोक्सीमार्फत आफ्नो निर्णयहरु पारित गराएको छ । सेयर धनी सदस्यहरुको संख्या न्युन भएपनि उपस्थिति नभएका सेयरधनी सदस्यहरु पनि निर्णय प्रक्रियामा सहभागी हुने गरी अधिकार प्रत्यायोजन गरेर प्रोक्सीमार्फत सभा सम्पन्न भएको हो । ‘उपस्थित नहुने सेयरधनी सदस्यहरुले निर्णय प्रक्रियाको लागि उपस्थित भएका सदस्यहरुलाई अधिकार दिनुभएको थियो, त्यसैले निर्णयको लागि चाहिने प्रतिशत संख्या पुर्याएर साधारणसभा सम्पन्न गर्न सफल भयौं,’सिईओ वस्तीले भने ।

miteri1

बैंकले साधारणसभाको अवसरमा पूर्व संचालक राजेश अग्रवाललाई सम्मान गरेको थियो भने उत्कृष्ट कर्मचारीकोरुपमा पानवारी शाखा प्रमुख सपना श्रेष्ठलाई पुरस्कृत गरेको थियो । बैंकले साधारणसभाको अवसरमा गर्ने भनिएको छात्रवृत्ति वितरणको कार्यक्रम भने रोकेको छ । बैंकले ३ जिल्लाको १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको थियो । यो कार्यक्रम गर्दा सहभागी संख्या धेरै हुने भएकोले तत्काललाई रोकिएको र पछि वितरण गर्ने सिईओ वस्तीले जानकारी दिए ।

१९ प्रतिशत लाभांस वितरण गर्ने

miteri4

सिईओ वस्तीका अनुसार साधारणसभाले १९ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उनका अनुसार बैंकको निक्षेप ४ अर्ब ८२ करोड छ भने कर्जा ४ अर्ब ६ करोड छ । बैंकको खुद नाफा १४ करोड ७२ लाख भएको पनि सिईओ वस्तीले जानकारी दिए । बैंकको यो तथ्यांक २०७६ असारसम्मको हो । उनका अनुसार अघिल्लो आर्थिक बर्षभन्दा गत बर्ष निक्षेप १८ प्रतिश बढी हो भने नाफा २७ प्रतिशत बढी हो ।