धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन धरान उपमहागनरपालिकामा पनि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरिने भएको छ ।

हिजो गठन भएको नगरस्तरीय सर्वपक्षीय कोरोना समितिको आजको बैठकले धरानमा पनि कोष स्थापना गर्ने निर्णय गरेको हो । समितिका संयोजक एवं मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले विपन्न परिवारलाई वितरण गर्ने भनिएको राहतको प्याकेजबारे पनि निर्णय गरेको छ । राहतको प्याकेज परिवार सदस्य हेरेर दिइनेछ ।

उपमहानगरका अनुसार ५ जना सदस्य रहेको परिवारलाई १० किलो चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन र ४ केजी आलु दिइनेछ भने ५ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई १५ केजी चामल, २ केजी दाल, ६ केजी आलु, २ लिटर तेल र १ केजी नुन दिइनेछ । साथै, बैठकले वडा कार्यालयहरुलाई राहतको सुची यथासिघ्र तयार गरेर पठाउन पनि आग्रह गरेको छ ।