धरान: गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स अन सर्भिस एण्ड रिटार्यर अफिसरहरुले धरानका विभिन्न संस्थाहरुमा खाद्यान्न सामग्री राहत स्वरुप प्रदान गरेका छन् ।

सिंगापुर पुलिस फोर्सबाट अवकाश पाएका र कार्यरतहरुले १ लाख ७७ हजार ३ सय ८० बराबरको खाद्यान्न सामग्री वितरण गरेका हुन् । उनीहरुले धरान उपमहानगरपालिकाको पहलमा लाङ्घाली सामुदायिक वनको आवास गृहमा राखिएका सडक मानवहरुको लागि १ लाख २ हजार ९ सय बराबरको खाद्यान्न उपलब्ध गराएका छन् । उनीहरुले खाद्यन्न सामाग्री उपप्रमुख मन्जु भण्डारी सुवेदीलाई हस्तान्तरण गरेका थिए । सडकबाट उद्दार गरिएकाहरुको लागि उनीहरुले चामल १२६० केजी, दाल ५ बोरा, चनामटर १० बोरा प्राप्त भएको व्यवस्थापन समितिकी सचिव जुनु राईले जानकारी दिइन् ।

singapore

यस्तै, सरस्वती बाल आश्रमका बालबालिकाहरुका लागि ३० हजार ३ सय ८० बराबरको खाद्यान्न सहयोग गरेको सिंगापुर पुलिस फोर्स अन सर्भिस एण्ड रिटार्यर अफिसरका अध्यक्ष श्यामकुमार लिम्बुले जानकारी दिए । उनका अनुसार अपाङ्ग पुर्नस्थापना केन्द्रमा आश्रितहरुका लागि १९ हजार ६ सय बराबरको खाद्यन्न दिइएको छ भने धरान १५ स्थित श्याम चोकस्थित गुम्बामा १४ हजार ७ सय बराबरको र महेन्द्र क्याम्पसमा अध्ययनरत डेरामा बस्ने विद्यार्थीहरुका लागि ९ हजार ८ सय बराबरको खाद्यन्न दिइएको छ ।

“कोभिड १९ का कारण लकडाउन अवस्थामा समाज र देशप्रति हाम्रो पनि उत्तरदायित्व र जिम्मेवारी रहेको छ, अभावको अवस्थामा हामीले केही सेवा गर्न पाउँदा खुसी लागेको छ,”अध्यक्ष लिम्बुले भने । अध्यक्ष लिम्बुका अनुसार यो संस्थाले काठमाडौ, पोखरा, ईलाम, बुटवलमा पनि राहत वितरण गरिरहेको छ । यसअघि २०७२ सालको महाभुकम्पको समयमा प्रधानमन्त्री राहत कोषमामा १३ लाख डलर जम्मा गरेको पनि उनले जानकारी दिए ।