धरान: सरकारले जिल्ला भित्रको छोटो दुरीका सार्वजनिक यातायातको साधनहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार सवारी साधनको सिट क्षमताको बढीमा आधा संख्यामा मात्र यात्रु राखेर छोटो दुरीमा यातायात सञ्चालन हुन पाउनेछ । सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उपत्यकाभित्र काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा यातायात सञ्चालन हुन पाउने जानकारी दिए । उपत्यका बाहिर भने सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने मन्त्रीपरिषद बैठकले निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।

उनका अनुसार चालक र सहचालकले मास्क, भाइजर र पञ्जा पनि अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । यस्तै, सिटको एउटा पंक्तिमा एक जनामात्र राखेर सामाजिक दुरी कायम गराउनुपर्नेछ । साथै, दिनमा एक पटक यातायातको साधनलाई डिस्इन्फेक्सन गर्नुपर्नेछ ।

मन्त्री खतिवडाका अनुसार निजी सवारीको हकमा जोरविजोर कायमै रहने छ भने चालक बाहेक दुई जनासम्म यात्रा गर्न मिल्नेछ । यसैगरी, सार्वजनिक यातायातको भाडा पनि सरकारले ५० प्रतिशत बढाउने निर्णय गरेको छ । सिट क्षमता अनुसार सञ्चालन नहुने भएकोले सञ्चालन खर्चका लागि ५० प्रतिशत भाडा थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले जानकारी दिए । उनका अनुसार ट्याक्सीको भाडा भने वृद्धि गरिएको छैन ।