अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताए। एयर फोर्स वानमा सवार पत्रकारहरूलाई ट्रम्पले भने,'जहाँसम्म टिकटकको कुरा छ त्यसलाई हामी अमेरिकामा प्रतिबन्ध लगाउँदैछौँ।' यसअघि धेरै प्रयोगकर्ता भएको भारतले पनि टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ ।

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक निकै तीव्र गतिमा मानिसहरूले रुचाएको एप हो। बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन्।

चासो

भाइरल नाच र हाँस्यमिश्रित अभिनयका कारण टिकटक युवा वर्गमा निकै लोकप्रिय बनेको छ । यो एप अमेरिकीहरूको व्यक्तिगत विवरण सङ्कलन गर्न प्रयोग हुनसक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरेका थिए। जसलाई उक्त कम्पनीले अस्वीकार गर्दै आएको छ। यसबीचमा उक्त एपलाई माइक्रोसफ्ट कम्पनीले किन्नका लागि छलफल गरिरहेको समाचारहरू सार्वजनिक भएका थिए। तर ट्रम्पले त्यस्तो सम्झौतालाई कार्यान्वयन गर्न दिन सकिनेबारे समेत संशय व्यक्त गरेका थिए।

टिकटकका प्रवक्ता हिलरी म्याक्वाइडले प्रतिबन्ध लगाउने पछिल्लो कदमबारे प्रतिक्रिया जनाउन अस्वीकार गरिन्। वाशिङ्टन पोष्ट पत्रिकाका अनुसार उनले 'टिकटकको दीर्घकालीन सफलतामा कम्पनी विश्वस्त रहेको' बताइन्। यूट्युबजस्तै टिकटक निःशुल्क प्रयोग गर्न सकिने सेवाको एप हो।

प्रयोगकर्ताहरूले गीत र विशेष प्रभाव देखिने फिल्टरको ठूलो भण्डारबाट छानेका सुविधा प्रयोग गरेर एक मिनेटसम्म लामो भिडिओ राख्न सक्छन्। चलचित्रका संवाद र हास्यरसका भनाइहरूमा पनि प्रयोगकर्ताले अभिनय गर्न सक्छन्।

टिकटकले कति तथ्याङ्क बटुल्छ ?

टिकटकले प्रयोगकर्ताको धेरै नै तथ्याङ्क सङ्कलन गर्छ। तीमध्ये केही यी हुन्:

कुन भिडिओ हेरियो र कुनमा प्रतिक्रिया जनाइयो
स्थान अवस्थिति तथ्याङ्क
फोनको प्रकार र यसको अपरेटिङ् सिस्टम
केही लेख्दा प्रयोगकर्ताले कसरी किबोर्ड थिच्छन्।

यसका केही तथ्याङ्क सङ्कलनले आशङ्का उठाएको छ। त्योमध्ये एक भनेको यसले कपीरपेस्ट गरिएको सामग्री हो। तर त्यस्तै तथ्याङ्क रेडिट, लिङ्क्डइन, न्यूयोर्क टाइम्स र बीबीसी न्यूज एपले पनि सङ्कलन गर्छ। टिकटकले फेसबुकजस्तै धेरै तथ्याङ्क सङ्कलन गर्छ।

यूकेको गोपनियतासम्बन्धी काम गर्ने एक निकायले यो एपको अध्ययन गरिरहेको छ।

यो कति ठूलो छ ?

सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ। महामारीको लकडाउनका कारण यसका मानिसको आकर्षण ह्वात्तै बढेको छ।

अहिले यो एप अनुमानित दुई अर्ब पटक डाउनलोड गरिएको छ र यसका ८० करोड सक्रिय प्रयोगकर्ता छन्। यो एप सबैभन्दा बढी भारतमा डाउनलोड भएको थियो तर प्रतिबन्धका कारण अहिले चीन र अमेरिका यसको सबैभन्दा ठूलो बजार हो।

यसको चीनसँग के सम्बन्ध छ ?

टिकटक तीन एपका साथ सुरु भएको थियो। पहिलो सन् २०१४ मा सुरु भएको अमेरिकी एप म्युजिकल्ली हो। सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले चीनमा उस्तै प्रकारको ठाउयीन एप सुरु गर्‍यो।

बाइटडान्सले त्यसलाई संसारभर टिकटकको नाममा फैलायो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन्।सन् २०१८ मा बाइटडान्सले म्युजिकल्लीलाई किन्यो र यसलाई टिकटकमा मिसायो। बाइटडान्सले चिनियाँ स्वामित्वबाट आफ्नो एपलाई पर राख्ने प्रयास गरेको छ। यसका लागि कम्पनीले टिकटकको प्रमुख कार्यकारीको रूपमा डिज्नीको पूर्वकार्यकारी केभिन मायरलाई नियुक्त गरेको छ।

टिकटकले जासुसी गर्न सक्छ ?

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकले सङ्कलन गरेको तथ्याङ्क चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुग्ने आरोप लगाएका छन्। टिकटकले तथ्याङ्क सङ्कलन चीन बाहिर हुने र बाहिरै भण्डार हुने पटक(पटक बताएको छ । 'हामी चिनियाँ सरकारको औंलामा छौँ भन्ने कुरा पूर्ण रूपमा असत्य हो,' टिकटकको युरोप, मध्यपूर्व र अफ्रिकाका लागि सार्वजनिक नीतिका प्रमुख थियो बेर्टरामले बीबीसीलाई बताएका थिए।

तर टिकटकविरुद्धको कुरा भनेको चिनियाँ सरकारले स्थानीय कानुन लगाएर बाइटडान्सलाई विदेशी प्रयोगकर्ताको तथ्याङ्क दिन बाध्य पार्न सक्छ भन्ने हो। सन् २०१७ को चीनको राष्ट्रिय सुरक्षा कानुनमा कुनै पनि संस्था वा व्यक्तिले राज्यको जासुसी कार्यकालागि सहयोग र सहकार्य गर्नुपर्ने व्यवस्था छ।

ब्रेटरामले चिनियाँ सरकारले मागेपनि आफूले नदिने बताएका थिए। तर बाइटडान्सले चिनियाँ सरकारलाई असन्तुष्ट पार्दा हुनसक्ने असरका बारेमा सोच्नपर्ने हुन सक्छ। बाइटडान्सको धेरै लोकप्रिय समाचार एप टौटिआओ सन् २०१७ मा चीनको इन्टरनेट सूचना कार्यालयले अश्लील सामग्री फैलाएको भनेपछि २४ घण्टाका लागि हटाइएको थियो।