धरान: मानव सेवा आश्रमले २१ औं शाखा विस्तार गर्दै धरानबाट पनि सेवा शुरुवात गरेको छ ।
धरान १६ स्थित मगर संघ नजिकै घर भाडामा लिएर आश्रमले आज बुधबारदेखि सेवा शुरुवात गरेको हो । आश्रमका अनुसार सडकबाट उद्दार गरिएका २० जनालाई गृह प्रवेश गराएर सेवा सुचारु गरिएको छ । उद्दार गरिएका व्यक्तिहरुलाई एक कार्यक्रमबीच बुधबार मेयर हर्कराज राई (साम्पाङ), वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई, वडा नं १ का अध्यक्ष यज्ञमणी आचार्यलगायतले फुलमालाले स्वागत गरिएको थियो । साथै उनीहरुलाई खाना पनि वितरण गरिएको थियो ।
आश्रमका होमनाथ तिम्सिनाले सेवा शुरुवात गरेको र भविष्यमा सेवा केन्द्रको स्तरोन्नती गरेर उद्घाटन गर्ने बताए । उनका अनुसार हिजो बेलुका धरानको सडकबाट ५ जनाको उद्दार गरिएको र अन्य विगतमा उद्दार गरेर विराटनगर लगिएकाहरुलाई ल्याएर राखिएको छ ।
आश्रममा राखिएकाहरुको मानसिकरुपमा विचलित भएका, कतिको चाहेर पनि भन्न नसकेको र कतिले झुट बालेकाले कुन ठाउँको हो भन्ने प्रष्ट नहुने पनि उनले बताए । ‘औषधी उपचार गरेर मानसिक अवस्था ठिक भएपछि पारिवारिक पुर्नमिलन पनि गराउछौं,’ उनले भने । अहिले पुरुष मात्र राखिएको र केही समयपछि महिलाहरुलाई पनि राख्ने छुट्टै व्यवस्था गरिने उनले जानकारी दिए ।
भिडियो:
सडकमा वेवारिसे अवस्थामा रहेकाहरुलाई धरानबाट उद्दार गरेर विगतमा इटहरीस्थित माया घर वा विराटनगरस्थित मानव सेवा आश्रम पुर्याउनुपर्ने बाध्यता थियो । अब भने धरानमै आश्रममा राख्न सहज हुने भएको छ । आश्रमले विभिन्न दाताहरुबाट उपलब्ध हुने सहयोगबाट र सरकारी निकायबाट पनि सहयोग आएर सञ्चालन भइरहेको जनाएको छ ।
मेयर साम्पाङले धरानमा दयालु मानिसहरु बस्ने भएकोले विभिन्न ठाउँबाट सडक मानिसहरु आउने गरेको र उद्दार गरेर विराटनगर, इटहरी पुर्याउनुपर्ने बाध्यता हटेको भन्दै सन्तोष व्यक्त गरेका थिए । बजेट तथा स्रोतको सिमितता भएपनि उनले आश्रमलाई स्थानीय सरकारबाट पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा वडा नं १६ का अध्यक्ष मुरारी भटट्राई, सामाजिक संस्था लायन्स क्लबका तर्फबाट धिरज गुरुङ, आश्रमका विराटनगरका लिला ढुंगेलले पनि सम्बोधन गरेका थिए । यस्तै, कार्यक्रममा दाता शान्ता रिजाल र भैरव रिजाललाई सम्मान पनि गरिएको थियो ।