धरान: धरानका मेयर तिलक राईले भालढुंगा सामुदायिक वन क्षेत्रमा सालको रुख काटिएको घटनामा आफुलाई जोडेको बिषयमा औपचारिकरुपमा स्पष्टीकरण दिएका छन् ।
मेयर राईले आज एक विज्ञप्ती जारी गर्दै रुख काटिएको घटना आफ्नो निर्देशन र संलग्नता भएको साथै वन समुहको कोषाध्यक्षको उपस्थितिमा काटिएको भन्ने कुरा र समाचार भ्रामक भएको बताएका छन् । विष्णुपादुका आफ्नो गाउँ भएकोले बाल्यकालदेखि अहिलेसम्म समय समयमा जाने र बस्ने गरेको उल्लेख गर्दै मेयर राईले पुख्यौली जग्गाजमिन अझै पनि भएको खुलाएका छन् । साथै आफ्नो उपस्थिति र आउजाउ कसैको लागि असह्य हुनसक्ने भन्दै मेयर राईले केही व्यक्ति बिशेषले प्रतिशोध साध्ने उद्देश्यले वन समुहका कोषाध्यक्षको समेत नाम जोडेर चरित्र हत्या गर्ने उद्देश्यले यो बिषय उठान गरेको दाबी गरेका छन् ।
मेयर राईले आफ्नो र वन समुहका कोषाध्यक्ष भिम बस्नेतको घर छिमेकी भएकोले भेटघाट हुनु सामान्य भएको उल्लेख गरेका छन् । ‘तर,यो सन्दर्भमा आरोप लगाएजस्तो हामी वन क्षेत्र गएको पनि छैनौं, रुख काट्ने कुरा भएको पनि छैन, र हाम्रो उपस्थिति र संलग्नता पनि नरहेको स्पष्ट पार्न चाहन्छौं,’मेयरको विज्ञप्तीमा भनिएको छ । वन समितिको आन्तरिक अधिवेशन केही बर्षदेखि विविध कारणले नभएको आन्तरिक समस्या रहेका, कोषाध्यक्षसँगको पारिवारिक र व्यक्तिगत आग्रह, पुर्वाग्रहसमेतलाई जोडेर रिसइबी साध्ने भएका भएको मेयर राईले जनाएका छन् ।

 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
                     
		


 
		 
		 
		 
		



