राष्ट्रपति डोनल्ड ट्रम्पले हप्तौँदेखि यदि निर्वाचनमा कडा प्रतिस्पर्धा भए डेमोक्र्याटिक उम्मेदवारले आफूलाई हराउन धाँधली गरेको आरोप लगाउने बताउँदै आएका थिए।

बुधवार उनले त्यसै गरे। दशौँ लाख वैधानिक मतपत्र गणना हुन बाँकी हुँदै अपरिपक्व रूपमा उनले आफूले चुनाव जितेको घोषणा गरे। “हामीले यो चुनाव जित्ने तयारी गरिरहेका थियौँ। साँचो भन्नुपर्दा हामीले यो चुनाव जितिसकेका छौँ,” ट्रम्पले भने। कुनै ठोस प्रमाणबिना उनले चुनावमा धाँधली भएको दाबी गरे। “यो हाम्रो देशमा भएको ठूलो धाँधली हो। हामी उपयुक्त ढङ्गले कानुनको प्रयोग गरियोस् भन्ने चाहन्छौँ। त्यही भएर हामी सर्वोच्च अदालतमा जान्छौँ। हामी सबै प्रक्रिया रोक्न चाहन्छौँ।”

'रिसउठ्दो, अभूतपूर्व र असत्य’

डेमोक्र्याट र राष्ट्रपतिका केही समर्थकले त्यसबारे तत्कालै प्रतिक्रिया जनाए। ट्रम्पका प्रतिस्पर्धी जो बाइडनले सबै मतपत्रको गणना सम्पन्न नभएसम्म चुनाव सम्पन्न नहुने बताए। “हामी चुनाव जित्ने दिशामा छौँ,'' उनको जोड थियो।

बाइडनको निर्वाचन अभियानका व्यवस्थापक जेन ओमाली डिलनले ट्रम्पको अभिव्यक्ति ‘रिसउठ्दो, अभूतपूर्व र असत्य’ भएको बताइन्। उनले भनिन्, “त्यो आक्रोश उत्पन्न गराउने खालको थियो किनभने त्यो अमेरिकी नागरिकहरूको लोकतान्त्रिक अधिकार खोस्ने नाङ्गो प्रयास थियो।”

“त्यो अभूतपूर्व थियो किनभने हाम्रो इतिहासमा नै विगतमा कहिले पनि अमेरिकी नागरिकहरूलाई राष्ट्रिय निर्वाचनमार्फत् आफ्नो अभिव्यक्ति व्यक्त गर्नबाट राष्ट्रपतिले रोक्न खोजेका थिएनन्।”

कङ्ग्रेसमा पुनस् निर्वाचित भएकी डेमोक्र्याटिक पार्टीकी एलेक्जेन्ड्रिया ओकासियो कोर्टेजले राष्ट्रपति ट्रम्पको दाबी “अवैधानिक, घातक र तानाशाही” रहेको बताइन्। उनले ट्विटरमा लेखेकी छन्, “मतगणना गर। परिणामलाई सम्मान गर।”

ट्रम्पको आलोचना गर्नेमा रिपब्लिकन पार्टीका पूर्वसिनेटर रिक स्यान्टोरम पनि छन्। उनले सीएनएनसँग कुरा गर्दै ट्रम्पको टिप्पणीले आफू चिन्तित भएको र धाँधली शब्द प्रयोग गर्नु गलत रहेको बताएका छन्। एक परम्परावादी टिप्पणीकार र ट्रम्पका आलोचक बेन सपिरोले राष्ट्रपतिको प्रतिक्रिया एकदमै गैरजिम्मेवार भन्दै ट्विट गरेका छन्।

ट्रम्पले बोलेपछि धारणा राखेका उपराष्ट्रपति माइक पेन्सले अवस्था सामान्य पार्ने प्रयास गरेको जस्तो देखियो। उनले विजय घोषणा गर्न मानेनन् र सबै वैधानिक रूपमा हालिएका मतको गणना हुने बताए।

'क्षति भयो'

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थनी जर्कर राष्ट्रपति ट्रम्पको धारणाले क्षति पुगेको बताउँछन्। उनले भने, 'ट्रम्पको हारजित जे भए पनि उनले निर्वाचनलाई धमिलो बनाइदिएका छन् किनभने उनले अमेरिकी लोकतन्त्रको आधारभूत संयन्त्रमाथि नै प्रश्न गरेका छन्।'

जारी महामारीका कारण अभूतपूर्व सङ्ख्यामा मानिसहरूले हुलाकमार्फत् वा अग्रिम मतदान गरेका थिए। त्यसैले मतगणना सम्पन्न गर्न कतिपय राज्यमा समय लाग्न सक्छ। जर्कर भन्छन्ः 'राष्ट्रपतिले नै मतगणनालाई कमजोर बनाउने परिस्थिति देखिएपछि राष्ट्रपतीय निर्वाचन धेरै अमेरिकी नागरिकहरूले नहोओस् भनेर कामना गरेको अवस्थामा प्रवेश गरेको छ।'

ट्रम्पले आफ्नो पराजय स्वीकार गर्न मानेका छैनन्। पछिल्लो समयमा सशस्त्र बल, गुप्तचर निकाय वा प्रहरीलाई ह्वाइट हाउसभित्र सुरक्षा घेरामा रहेका राष्ट्रपतिलाई बलपूर्वक बाहिर निकाल्न प्रयोग गर्ने या नगर्ने एक किसिमको अनौठो बहस पनि भइरहेको छ। निर्वाचनको परिणाम अब एरिजोना, विस्कन्सिन, पेन्सिल्भेनिया र जोर्जिआबाट निर्धारित हुने देखिएको छ।

कुनै पनि चुनौतीले राज्यस्तरका अदालतबाट गएर मात्रै सर्वोच्च अदालतमा प्रवेश पाउँछ। त्यसको अर्थ सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाम आउन कैयौँ दिन लाग्न सक्छ। त्यसबीचमा अनिश्चितता कायम हुने र त्यसले प्रदर्शन र झडप हुने चिन्ता प्रकट भएको छ।

मतदानको दिन पनि झडपहरू भएका थिए र ह्वाइट हाउससहित कतिपय ठाउँमा भएका प्रदर्शनमा तनाव उत्पन्न भएको थियो। जर्कर भन्छन्, “बाइडनले आफू विजयोन्मुख भएको र ट्रम्पले आधारहीन रूपमा मतदानमा धाँधली र चोरी भएको आरोप लगाएपछि कुनै बेला त्रासदीपूर्ण भनिएको अवस्थाले स्वरूप ग्रहण गर्दैछ।”

“तिक्तता र लामो कानुनी लडाइँको यो विधिबाट पराजित पक्षका समर्थकहरूमा क्रोध र ठगिएको अनुभूति गराउनेछ।” बिबिसि नेपाली