धरान: धरान उपमहानगरपालिकाले ठेक्का लगाएको सर्दु खोला पनि लफडा भएको छ । 

धरान १७ का डाँडा घोपाबासीहरुले चुरे क्षेत्रमा जथाभावी उत्खनन् गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले आज बिहान सर्दु खोलामा पुगेर उत्खनन्मा रोक लगाएका हुन् । चुरे क्षेत्र भनेर विगतमा उपमहानगरपालिकाले नै स्थानीयलाई ढुंगा, गिट्टी निकाल्न रोक लगाउने गरेको र स्थानीयबासीले संरक्षण गरिरहेको सामुदायिक वन क्षेत्रमा नै क्षति पुग्ने गरि अहिले ठेक्का लगाएको भन्दै डाँडाघोपाबासीले उत्खनन्मा रोक लगाएका हुन् । 

sardu3

डाँडाघोपा नमुना मार्ग टोल विकास संस्थाका संयोजक लिलाबहादुर बुढाथोकीले चुरे भावर क्षेत्रमा ढुंगा, बालुवा, मिसगिट्टी निकाल्न प्रतिबन्ध रहे पनि जनप्रतिनिधिले नै ठेक्का लगाएर उत्खनन् गर्न आदेश दिएको भन्दै आक्रोश पोखे । गत बर्ष पनि खानेपानीको पाइपलाइन क्षति पुगेको भन्दै उनले मर्मत गर्नुपर्ने, पानी ट्यांकी मर्मत गर्नलगायतको सामाजिक कार्यमा बजेट विनियोजन हुनुपर्ने उनले बताए । नम्बरी र ऐलनी जग्गाको साँधसिमाना, बाटोको सिमाना प्रष्ट छुट्याएर मात्र उत्खनन् गर्न दिइने उनले बताए । 

यस्तै, डाँडाघोपा नमुना सामुदायिक वनका अध्यक्ष सिवन कुमार राईले जिल्ला वन कार्यालयसँग समन्वय पनि नगरि उत्खनन् भइरहेको पाएको बताए । उत्खनन् गर्दा धेरै क्षति हुने उनको भनाई छ । ठेकेदार कम्पनी पाथीभारा निर्माण सेवाका प्रोपाइटर अर्जुन भण्डारीले भने नगरपालिकाले ठेक्का लगाएको र प्रक्रिया अनुसार आफुले ठेक्का पाएपछि उत्खनन् थालेको बताए । नगरपालिकाले दिएको विधि, प्रक्रिया अनुसार नै उत्खनन् भइरहेको उनको दाबी छ । 

sardu2

आज दिउँसो २ बजे खोला उत्खनन् विवादबारे उपमहानगरपालिकाले छलफलमा बोलाएको डाँडाघोपा टोल विकास संस्थाका अध्यक्ष बुढाथोकीले जानकारी दिए । हिजो पनि धरानको वडा नं ५ का वडाअध्यक्ष सन्तोष लिम्बुको नेतृत्वमा सेउती खोलामा भइरहेको उत्खनन् कार्यलाई रोकेका थिए । विभिन्न ७ बुँदाको निर्णय कार्यान्वनय नभएको भन्दै अध्यक्ष लिम्बुले उत्खनन् रोकेका थिए । अहिले भने प्रहरी परिचालन गरेर उत्खनन् भइरहेको छ । डिभिजन वन कार्यालय सुनसरीले पनि स्थानीय तहले वन क्षेत्रको आइईई गर्न र ठेक्का लगाउन नपाउने भन्दै रोक्न निर्देशन दिएपनि जर्बजस्ती उत्खनन् भइरहेको छ ।