धरान: प्रदेश १ का यातायात व्यवसायीहरुले निषेधाज्ञा जारी रहदा सबैभन्दा बढी आफुहरुलाई मर्का परेको गुनासो गरेका छन् । उनीहरुले आवश्यक स्वास्थ्य मापदण्ड अपनाउदै जोर विजोर प्रणालीमा सार्वजनिक यातायात खुलाउन पनि माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नम्बर प्रदेश समितिले प्रदेश एकका सबै प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । महासंघले सवारी चालक, सहचालक, यातायातका कर्मचारी र व्यवसायीमा पनि बढी संक्रमणको जोखिम हुने भएकोले खोपको व्यवस्था गर्न पनि माग गरेको छ ।

प्रदेश समिति अन्तर्गतको झापा र सुनसरीमा हिजो सोमबार ज्ञापन पत्र बुझाइसकेको छ भने अन्य जिल्लाहरुमा आज ज्ञापन पत्र बुझाउने महासंघका प्रदेश १ संयोजक सरोज श्रेष्ठले जानकारी दिए । उनले भने,‘सबैभन्दा बढी मर्का यातायात व्यवसायी र यसमा आश्रित मजदुरहरुलाई भयो । त्यसैले पुर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै जोर विरोज प्रणालीमा ५० प्रतिशत यातायात खुलााउने व्यवस्था होस् भनेर ज्ञापन पत्र बुझाएका हौं ।’

व्यवसायीहरुले गत बर्षको लडकाउनकै बैंकको किस्ता र ब्याज पुर्नतालिकीकरण गरेर भुक्तानी गरेपनि चुक्ता भइनसकेको जनाएको छ । कोरोनाको दोस्रो लहरले पुनः सवारीसाधन बन्द हुँदा यातायात क्षेत्र धरासायी भएको र व्यवसायीहरु पलायन हुदै गएको महासंघको भनाई छ । ‘धेरै व्यवसायी पलायन भइसके । हामी मारमा पर्यौं,’प्रदेश संयोजक श्रेष्ठले भने,‘काठमाण्डौंमा जोरविजोर शुरु भएको छ, यता प्रदेश १ मा पनि व्यवस्थापन हुनुपर्छ भनेर ध्यानाकर्षण गराएका हौं ।’

बजार, पसलहरु खोले पनि यातायात सञ्चालन नभएसम्म व्यापार र कारोबार नहुने भन्दै श्रेष्ठले एक सातासम्मको खुकुलो लकडाउनको परिणाम हेरेर असार १५ गतेदेखि जोरविजोर प्रणाली लागु गर्नुपर्ने बताए । ‘कोरोना संक्रमण कम हुदै आएको छ । गत बर्ष पनि हामीले आन्दोलन गछौं भनेपछि मात्र सरकारले गाडी चलाउन दियो,’उनले भने,‘यसपाली पनि समयमा नै ध्यानदिइयोस् भनेका हौं।’yata