धरान: कोरोना संक्रमणको दर कम हुदै गएको र अन्य सबै क्षेत्र खुला भइसकेको भन्दै धरानमा विद्यालय खोल्ने तयारी गरिएको छ । 

विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नको लागि तयारी स्वरुप उपमहागनरपालिकाले सल्लाह, सुझाव, गुनासा तथा प्रतिक्रियाहरु माग गरेको छ । हिजो शुक्रबार शिक्षा महाशाखाले एक विज्ञप्ती जारी गर्दै सरोकारवाला पक्षबाट सुरक्षा मापदण्ड पुरा गरेर भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न माग भएको र उपमहानगरपालिकासमेत सकरात्मक भएको जनाएको छ । यसबारे सल्लाह, सुझाव, गुनासा वा प्रतिक्रियाहरु भए शिक्षा महाशाखा वा नगर प्रमुखको सचिवालयमा लिखितरुपमा पेश गर्न पनि उपमहागनरपालिकाले आग्रह गरेको छ ।

कोरोना महामारीको कारण शैक्षिक संस्थाहरुमा पठनपाठन विद्यार्थीहरुको भौतिक उपस्थितिमा हुन नसकेको छैन । वैकल्पिक विधि एवं भच्र्युल माध्यमबाट पठनपाठन भइरहे पनि यो विधिबाट सबै विद्यार्थीहरुलाई समेट्न नसकिने साथै अपेक्षित शैक्षिक गुणस्तर हासिल गर्न नसकिने देखिएको उपमहानगरले विज्ञप्तीमार्फत खुलाएको छ । निजी तथा संस्थागत विद्यालयहरुले पठनपाठन भौतिक उपस्थितिमा नै गर्नुपर्ने माग गर्दै आएको छ भने सामुदायिक विद्यालयका प्रअहरुले पनि यही राय दिएको शिक्षा महाशाखा प्रमुख रत्न कटवालले जानकारी दिए ।

महाशाखा प्रमुख कटवालका अनुसार शुक्रबार सामुदायिक विद्यालयका प्रअहरुसँग छलफल भएको थियो । उक्त छलफलमा पनि प्रअहरुले अब विद्यालय खोलदा नै राम्रो हुने सुझाव दिएका थिए । ‘अन्य पालिकाहरुले पनि खोल्न थालेका छन् । यहाँ पनि अरु सबै क्षेत्र खुल्यो, स्कुल मात्र किन बन्द ? बच्चा स्कुल नगए पनि बजारतिर डुलेकै छन् भन्ने कुरा आयो,’कटवालले भने,‘सरकारले पनि  स्थानीय तहले निर्णय गरेर भौतिक उपस्थितिमा पठनपाठन गर्ने भनेको छ । प्याब्सन, एन प्याब्सन, सामुदायिक विद्यालयका प्रअले पनि खोल्नुपर्छ भने । विद्यार्थी संगठनहरुले पनि खोल्नुपर्छ भन्न थालेकोले निर्णय गर्नुअघि सबैबाट राय, सुझाव, प्रतिक्रिया मागौं भनेर अपिल निकालेको हो ।’

dharan-sikxa