धरान: धरानको वडा नं ६ पानवारीसँग सिमा जोडिएको गाउँ हो, मोरङ जिल्लाका केराबारी गाउँपालिका वडा नं ५ स्थित देवीटार । कच्ची बाटो हुँदै थोरै डाँडा उक्लिएपछि यो गाउँ पुगिन्छ । 

अहिले देवीटार गाउँ पुग्दा खेतबारी भरि लह हल सयपत्री फूल फूलेर झुलेको देखिन्छ । तिहार चाडको बेला छ, फूल झुलेको देख्दा मन त्यसै पनि रमाउछ । अझ सहरिया युवायुवती हो भने सेल्फी खिच्न र टिकटक बनाउन फुर्सदै नहोला जस्तो । 

तर, यो गाउँमा फूल खेती गर्नुको कारण पीडादायी छ । यसको एउटै कारण हो, जंगली जनावर बाँदर । गाउँलेहरुका अनुसार केही बर्षयता बाँदरले अन्नबाली खाइदिने, नष्ट गरिदिने गरेको  छ । जसले गर्दा गाउँलेहरुले आफ्नो खेतबारीमा अन्नबाली लगाउनै छाडेका छन् । त्यसको साटो उनीहरुले तिहारलाई लक्षित गरेर फूल खेती गर्न थालेका हुन् । 

sayapatri5

विगत ५ बर्षदेखि फूलको खेती गरिरहेका स्थानीय पदम विश्वकर्मा भन्छन्, ‘मकै, कोदो रोपौं भने बाँदरले केही राख्दैन, सागसब्जी पनि गर्न दिदैन । त्यसैले यही फूलको खेती गर्न थालेका हौं ।’ उनका अनुसार गाउँभरि नै फूलको खेती हुन्छ । सहर, बजारमा महंगोमा खरिद बिक्री हुने फूल किसानले भने सस्तोमा बेच्नु परिरहेको उनले बताए । ‘मुठाको ३०, ३५, ४० मा बेच्छौ,’उनले भने । 

अर्का, किसान बमबहादुर विश्वकर्माले बर्षमा १५, २० हजारको मात्र फूल बिक्री हुने गरेको बताए । उनले स्थानीय सरकारबाट अनुदान वा सहयोग केही पनि नपाएको गुनासो गरे । नजिकैको गाउँ साधुटारका किसान प्रेमबहादुर बस्नेतले पछिल्लो समय अज्ञात रोगले फूल राम्रो उत्पादन नभइरहेको भन्दै वडा सदस्यसमेत किसानको पीर, मर्का बुझ्न नआएको बताए । उनले भारतीय फूल आउदा नेपालको उत्पादन सस्तो हुने र लगानी पनि नउठ्ने अवस्था भएको बताए । उनले भने, ‘मुल्य यस्तै हो भन्ने हुदैन । कहिले त लगानी पनि उठाउन गाह्रो हुन्छ । किसानको मर्का बुझ्न वडा सदस्य पनि आउदैनन् ।’

एक लाख माला भारतबाट भित्रियो

sayapatri10

तिहारलाई लक्षित गरेर भारतबाट धरानमा १ लाख सयपत्री फूलको माला भित्रिएको छ । धरान १३ स्थित कृषि उपज थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार धरानमा ३ लाख माला आवश्यक पर्ने विगतको अनुभवहरुले बताएको छ । यो बर्ष बर्षाले फूल खेतीमा क्षति भएको कारण पनि स्थानीय उत्पादन कम हुने आँकलन गरेर व्यापारीहरुले तिहार अगावै एक लाख माला ल्याएर कोल्डस्टोरज गरेको व्यवस्थापक भट्टराईले बताए । उनका अनुसार यो ५० लाख मुल्य बराबरको माला हो । 

बिहिबार लक्ष्मी पूजाको बिहान स्थानीय फूलको उत्पादन पर्याप्त मात्रामा नआएर भारतीय फूलको माला महंगिने तर स्थानीय उत्पादन पर्याप्त आएमा भारतीय फूलको मालाले बजार भाउ नपाउने व्यवस्थापक भट्टराईको भनाई छ ।

भिडियो:

sayapatri2

sayapatri8

sayapatri6

sayapatri7

sayapatri11

sayapatri8

sayapatri12

sayapatri9