धरान: चर्चित अभिनेता पल शाहविरुद्ध जर्बजस्ती करणीको किटानी जाहेरी परेको छ । 

नाबालिग चर्चित गायिकाको बुबाले अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुमा जाहेरी दिएका हुन् । आफ्नो नाबालिग छोरीलाई विभिन्न वहानामा ललाई फकाई माया प्रेमको झुटो नाटक गरेर पटक पटक जर्बजस्ती करणी गरेको भन्दै गायिका अधिकारीका बुबाले कडा कानुनी कारबाही र क्षतिपूर्तिसमेत दिलाउन माग गरेका छन् । 

गायिका अहिले १७ बर्षकी मात्र छिन् भने उनी १६ बर्षको उमेर हुँदा नै शाहबाट पीडित भएको जाहेरीमा उल्लेख छ । काुननमा नाबालिगलाई सहमतिमा नै यौनसम्बन्ध राखे पनि करणी मानिन्छ । अन्तिम पटक गत बैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ९ दुलेगौडास्थित प्रदिप थापाको घरको कोठामा जर्बजस्ती करणी भएको जाहेरीमा उल्लेख छ । 

जाहेरीमा शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९(१) विपरीतको कसुर अपराध गरेकोले सोही वमोजिम कारबाहीको माग गरिएको छ । पछिल्लो समय शाह र गायिका अधिकारीबीचको सम्बन्ध चर्चामा थियो । उनीहरुको अडियो पनि सार्वजनिक भएको थियो ।

के छ कानुनमा ?

दफा २१९ (१) र (२) मा कसैले जर्बजस्ती करणी गर्न नहुने, कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा त्यस्तो महिला वा बालिकालाई जर्बजस्ती करणी गरेको मानिने उल्लेख छ । 

उपदफा ३ अनुसार १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा माथिको महिलामाथि करणी भए जन्मकैद हुन्छ भने १० वर्ष वा १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकालाई करणी भए १८ देखि २० वर्षसम्म कैद सजाय हुन्छ । यसैगरि, १४ वर्ष वा १४ वर्षदेखि माथी र १६ वर्षभन्दा कम उमेरकालाई करणी भए १२ देखि १४ वर्षसम्म कैद हुन्छ । यस्तै, १६ वर्ष वा १६ वर्षभन्दा माथि र १८ वर्षभन्दा कम उमेर भएकालाई करणी भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । १८ वर्ष वा १८ वर्षभन्दा माथि उमेरकालाई करणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।