धरान: नेत्र बिक्रम चन्द (विप्लव) नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, धरान उपमहानगर कमिटीले धरान वडा नं ११ र १७ स्थित नमुना सुन्दर वस्तीबाट २०७२ साल पछि बसेको घरपरिवारलाई उठाउने निर्णयको विरोध गरेको छ ।

उक्त पार्टीले मंगलबार नेपाल पत्रकार महासंघ सुनसरीको धरान १३ स्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै नमुना सुन्दर बस्तीमा रहेका एक हजार भन्दा बढी घरपरिवारलाई धरान उपमहानगरपालिका, राजनीतिक दलहरुसमेतले बस्ती खाली गर्न उर्दी गरेको भन्दै विरोध जनाएको हो । सेक्रेटरी सुवास राईले नागरिकको मौलिक हक हनन् गर्दै उक्त बस्तीका गरिव सुकुम्बासीहरुलाई उठिबास लगाउन दलाल संसदीय व्यवस्थाको स्थानीय सरकार र राजनीतिक दलको निर्णय जनविरोधी भएको भन्दै घोर विरोध तथा आपत्ति व्यक्त गरे । 

सेक्रेटरी राईले गरिब दुःखी जनताको घरबास नै उठिवास गराउने गैरजिम्मेवार निर्णय एवम् कार्य तत्काल रोक्न पनि माग गरे । उपमहानगरपालिका र राजनीतिक दलहरुको कदम नसच्चिए पार्टीले गरिब, सुकुम्बासी बस्तीको पक्षमा जस्तोसुकै कडा आन्दोलन र संघर्षको अभियान छेड्न तयार रहेको पनि राईले चेतावनी दिएका छन् । त्यसबाट सिर्जना हुने परिस्थिति र क्षतिको जिम्मेवारी धरान उपमहानगरपालिका र सम्बन्धित राजनैतिक दलले लिनुपर्ने हुन्छ, उनले भने ।