धरान: नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धरान आउदैछन् । 

पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड बिहान पहिलो फ्लाइटबाट विराटनगर हुदै धरान आउने कार्यक्रम तय भएको थियो । तर, पुर्वनिर्धारित समय तालिका फेरवदल भएको छ । सत्ता गठबन्धनको बैठकको कारण आउन केही ढिलाई हुने नेकपा माओवादी धरानका अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिएका छन् । 

उनका अनुसार प्रचण्ड धरान आएर सिधै धरान १५ स्थित होटल धरान किचनमा हुने पार्टीको कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ करिब ११ बजेदेखि प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठक हुनेछ । प्रचण्ड उक्त कार्यक्रममा सहभागी भएपछि दिउँसो ४ बजेतिर धरानको भानुचोकमा हुने जनवादी गायक जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा कार्यक्रममा सहभागी हुने माओवादी धरानका अध्यक्ष भट्टराईले जानकारी दिए । 

श्रमदानमा सहभागी होलान् ?

प्रचण्ड धरान आउदा उनी धरानमा सञ्चालित श्रमदान तथा वृक्षारोपण कार्यक्रममा सहभागी होलान् ? भन्ने चासो सर्वत्र छ । उनी सर्दु निशाने दोभान क्षेत्रमा वृक्षारोपणमा सहभागी हुने चर्चा भएपनि निश्चित भइसकेको छैन । 

हिजो माओवादी नेता एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले प्रचण्ड सर्दु जलाधार क्षेत्रमा वृक्षारोपणमा सहभागी हुनसक्ने अभिव्यक्ति दिएका थिए । तर, माओवादीका धरान अध्यक्ष भट्टराईले भने पार्टीले तय गरेको कार्यक्रममा त्यस्तो नभएको बताए । ‘अहिलेसम्म अध्यक्ष ज्यु प्रदेश १ का केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी हुने र ४ बजेपछि जेबी टुहुरे स्मृति सन्ध्या कार्यक्रममा सहभागी हुने भन्ने छ । पार्टीलाई अरु थाह छैन,’उनले भने,'जेबी टुहुरे स्मृति प्रतिष्ठानले उहाँ(जेबी टुहुरे)को स्मृतिमा रुख रोप्ने भन्ने कार्यक्रम कतै गर्यो भने हुनसक्छ ।

मेयर हर्क साम्पाङले राजधानी यात्राको क्रममा प्रचण्डसँग भेट हुदा धरानमा श्रमदान गर्न आउन आफुले आग्रह गरेको बताएका थिए । उनले अरु बेला पनि पार्टीका केन्द्रीय अध्यक्षहरुलाई श्रमदानमा आउन आह्वान गर्दै आएमा ढुंगा बोकाउने र माटो उपहार दिने बताउदै आएका छन् । त्यसैले पनि प्रचण्ड धरान आउदा ढुंगा बोक्न सर्दु खोला जान्छन् कि जादैनन् भन्ने चासो भएको हो । 

भिडियो: