धरान: धरानमा असोज २५ गतेदेखि अन्तर वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

भर्खर गठन भएको धरान १७ भेट्रान फुटबल क्लबको आयोजनामा असोज २५ देखि कार्तिक ५ गतेसम्म भेट्रान प्रतियोगिता हुन लागेको हो । क्लबले यो प्रतियोगितालाई हरेक बर्ष रनिङ प्रतियोगिताकोरुपमा आयोजना गर्ने योजना बनाएको अध्यक्ष विजय राईले जानकारी दिए । उनले भने,‘अन्तर वडास्तरीय पहिलो पटक गर्दैछौं । अर्को बर्षदेखि राम्रो ट्रफीको व्यवस्था गरेर निरन्तरता दिन्छौं ।’

प्रतियोगिता धरान १७ स्थित नमस्ते खेल मैदानमा हुनेछ । पहिलो पटक भएकोले यसपाली नाइन ए साइजको मात्र प्रतियोगिता हुनेछ भने अर्को बर्षदेखि समय मिलाएर रंगशालामा नै ११ साइजमा प्रतियोगिता गराउने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३० हजार पाउनेछ भने उपविजेताले २० हजार पाउनेछ । यस्तै, व्यक्तिगत विधातर्फ पनि खेलाडीहरुलाई नगद र ट्रफी पुरस्कार दिइने आयोजले जनाएको छ ।

प्रतियोगितामा सहभागीताको लागि धरानको २० वटै वडा कार्यालयहरुलाई पत्राचार गरिएको आयोजक क्लबका सदस्य सतिस केसीले जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडी सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ भने ३ वटा उमेर समुह छुट्याइएको छ । क्लबका अनुसार टिममा ३६ र ३७ बर्षका एक एक जना मात्र खेलाडी समावेश गर्न पाइनेछ भने ३८ र ३९ बर्षका ३ जना मात्र खेलाडी राख्न पाइनेछ । ४० बर्ष वा सोभन्दा माथि उमेर समुहका ४ जना खेलाडी राख्न पाइनेछ । आफ्नो वडाभन्दा बाहिरका खेलाडी समावेश गरेको प्रमाणित भए दुई बर्ष प्रतिबन्ध तथा नगद १० हजार जरिवाना गरिने पनि आयोजकले जनाएको छ ।

veteran1