धरान: एमाले अध्यक्ष केपी शर्मा ओलीले धरान आएर प्रतिनिधिसभा सदस्यका उम्मेद्वार अशोककुमार राईलाई सुनसरी क्षेत्र नं १ बाट जिताउन नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

गीता भवनमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जसपासँगको तालमेल राष्ट्रिय आवश्यकता भएको धारणा राख्दै सुनसरी १ बाट अशोक राईले नजिते एमालेको बेइञ्जत हुने पनि बताए । अशोक राई एमालेकै पुर्वउपाध्यक्ष भएको स्मरण गर्दै ओलीले उनी एमालेमा नभएपनि एमालेको संगत मात्र गर्दा पनि जितिन्छ भन्ने प्रमाणित गर्नुपर्ने बताए । ‘एमाले भइएन भनेपनि संगत मात्र गर्दा पनि जितिन्छ भन्ने देखाउनुपर्छ । उहाँलाई जिताउन सकिएन भने एमालेको बेइज्जत भएन ?’ ओलीले भने ।

ओलीले पछिल्लो समय धरानले बाटो विराएको, अलमलिएको जस्तो देखिएको भन्दै पार्टीहरुको योगदान र इतिहास धरानले विर्सन खोजेको हो कि भन्दै प्रश्न पनि तेस्र्याए । उनले भने,‘कल्लालाई छान्नुपर्ने, चुन्नुपर्ने भनेर धरानले विर्सन खेजेको हो कि ? पार्टीहरुको इतिहास, योगदान विर्सन खोजेको हो कि ? धरानका जनताको स्मरण शक्ति कमजोर छ भन्ने मलाई लाग्दैन ।’

oli-ashok1

ओलीले धरानको खानेपानी समस्या हल गर्न कोशीको पानी ल्याउने र त्यसको लागि राष्ट्रिय बजेट, राष्ट्रिय योजना आवश्यक भएको बताए । अब एमालेको सरकारले कोशीको पानी ल्याउने भन्दै उनले मेयर चुन्ने बेला धरानले गल्ती गरेको आसय प्रकट गरे । उद्यपी उनले मंसिर ४ आइसकेको हुनाले त्यसपछि भन्ने एमालेको सरकारले कोशीका पानी ल्याएर धरानलाई खुवाउने भन्दै ढुक्क हुन आग्रह गरे । 

ओलीले तमोरको पानी पनि ल्याएर धरानलाई खुवाउन सकिने भन्दै त्यसको लागि पनि सर्वे गराउने बताए । उनले भने, ‘जे होस्, चाहे डाँडो कटाएर होस, चाहे डाँडो छेडेर होस्, जसरी पनि धरानलाई पानी पर्याप्त पुग्ने गरि पानी खुवाउछौं । खुवाउछौं मात्र होइन, यहाँको छेउका खेलाहरु बग्ने गरि पानी आउछ ।’

भिडियो: