धरान: सुनसरी क्षेत्र न १ प्रदेश सभा १ (२) बाट प्रत्यक्ष उम्मेदवारी दिएका एमालेका उम्मेद्वार विजयकुमार राईले विष्णुपादुका लगायतका पहाडी क्षेत्रलाई भौतिक पूर्वाधारले जोड्न आवश्यकता रहेको बताएका छन् ।

उनले आफूलाई चिप्लो कुरा गर्न नआउने बताउँदै आफ्नो विजयपश्चात पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उम्मेदवार राईले विष्णुपादुकाको  कृषि उत्पादनलाई विकाससँग जोड्ने वचनवद्धता व्यक्त गरे । 'चुनावको समय छ, धेरै उम्मेदवार यसो गर्छौ, उसो गर्छौं भन्दै आउँछन् होला, तर मलाई चिप्लो कुरा गर्न आउँदैन, मेरो सबैभन्दा पहिलो प्राथमिकता विष्णुपादुकालाई पूर्वाधार विकासयुक्त बनाउने र कृषि उत्पादनलाई स्वरोजगारसँग जोड्ने लक्ष्य छ,' उम्मेदवार राईले भने,'तपाईहरुले निर्वाचित गरेर पठाउनुस्, तपाइँको मतको अवमूल्यन हुन दिने छैन, प्रतिबद्धताबाट पन्छिने छैन ।'

विष्णुपादुका हावापानी सौन्दर्यता राम्रो रहेको तर पूर्वाधार विकासका दृष्टिले पछि परेकाले यो क्षेत्रलाई पूर्वाधार विकासले जोड्नमात्र सके यहाँको पर्यटनको विकास हुन सक्ने बताए । उम्मेदवार राईले नीति निर्माणसँगै निर्वाचन क्षेत्रलाई विकाससँग जोड्ने बताए । 

विष्णुपादुकाका मतदाताहरुले भौतिक पूर्वाधार निर्माणका अपेक्षालाई पूरा गर्ने उम्मेदवारलाई मात्रै यो निर्वाचनमा मतदान गर्ने प्रतिक्रिया दिएका छन् । वडा २० विष्णुपादुकाका युवा जीवन राईले विगतमा जिताएर पठाएकाहरुले काम गरेपनि अपेक्षा गरेजस्तो अझै पुरा हुन नसकेको भन्दै भने, ुयो निर्वाचनमा पनि विष्णुपादुकावासीले विवेकपूर्ण हिसाबले आफ्ना प्रतिनिधि नछान्ने हो भने, विकासको सपना अझै पछाडि धकेलिनेछ ।ु उनले केन्द्रीय पहुँच भएका राष्ट्रिय नेता छान्नु आवश्यक भएको भन्दै प्रतिनिधिसभामा अशोक राईलाई भोट दिने प्रतिक्रिया दिए । मनमोहन अधिकारीपछि राष्ट्रिय नेताका रुपमा अशोक राईलाई पाएको भन्दै उनले खुशी पनि व्यक्त गरे । 

विष्णुपादुकाका मतदाताहरुले सडकको सहज पहुँचलाई स्थापित गर्न सक्ने, धार्मिक पर्यटनकीय क्षेत्रकारुपमा विष्णुपादुकालाई विकास गर्न सक्ने, स्थानीय कृषि उपजको व्यावसायीकरण गर्न सक्ने, स्वरोजगार प्रवर्द्धन गर्न सक्ने, स्थानीय उत्पादनलाई राष्ट्रियकरण गर्न सक्ने सक्षम नेता चुन्न आवश्यक भएको उनीहरुको प्रतिक्रिया थियो ।