धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले आफ्नो उम्मेद्वारीले ठुला ठुला गठबन्धन गरेका र हेभिवेट भनिएका उम्मेद्वाहरु तिलमिलाएको बताएका छन् ।

मंगलबार भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार मेन्याङ्बोले क्षेत्र नं १ का मतदाता, जनता आफु र चुनाव चिह्न खरायोको पक्षमा रहेको पनि दाबी गरे । ‘मलाई गर्व छ, आज यी पार्टीका नेताहरु तिलमिलाएका छन् । ठुला ठुला गठबन्धन गरेर आएका उम्मेद्वारहरु तिलमिलाएका छन् । आज जनताहरु खरायोको पक्षमा, मनोज मेन्याङ्बोको पक्षमा छन्,’उनले भने,‘धरान र क्षेत्र नं १ यही क्षेत्रको छोराको पक्षमा, इमान्दार र कर्मठ छोराको पक्षमा उभिएका छन् । त्यसैले उनीहरु तिलमिलाएका छन्, र म विरुद्ध अफवाह फैलाउन थालेका छन् ।’

उनले आफु कसैलाई जिताउन छद्मभेषी भएर नआएको भन्दै आफै जित्न र १ नम्बर क्षेत्रका जनतालाई जिताउन, अधिकार सम्पन्न बनाउनको लागि आएको बताए । ठुला ठुला पार्टीका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई दासकारुपमा हेर्न नसकुन् भनेर विद्रोह गर्दै पार्टी नै त्यागेर उम्मेद्वारी दिएको उनले बताए । ‘एमालेका अधिकांश कार्यकर्ताहरु मेरो पक्षमा उभिनुभएको छ । यो मेरो कदमले नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुको पनि भावना बोकेको कारणले गर्दा उहाँहरुको भावना र मेरो भावना गाँसिएको छ, उहाँहरु मेरो विजयसँग आफ्नो प्रतिष्ठा गासिरहनुभएको छ,’उनले भने,‘माओवादी भित्रका साथीहरुको पनि अवस्था त्यस्तै छ । जसपाका युवा कार्यकर्ताहरुसँग पनि मेरो भावना गाँसिएको छ ।’

manoj-sava1

मेन्याङ्बोले हेभिवेट भनिएका नेतालाई मंसिर ४ गते पछि जनताले सडकमा पुर्याउने पनि दाबी गरे । मंसिर ४ गते जनताले आफ्नो क्षेत्रको सेवक र विकास वाहक छान्न चाहेको तर गठबन्धन गरेर आएका स्वघोषित ठुला नेता हरेक निर्वाचनमा पार्टी फेर्दै छेपारे बनेर आएकोले जनताले यसपाली पनि सडकमा पुर्याइदिने बताए । ‘५ बर्षअघि कांग्रेसको काँधमा चढेर आउनु भएको थियो, त्यसपछि ५ बर्षसम्म हराउनुभयो । नाकमुख देख्न पाएनौं, सिन्को भाँचिएन,’अशोक राईप्रति लक्षित गर्दै उनले भने,‘अहिले फेरि एमालेको बुई चढेर अकै रंगमा लाज पचाएर सत्ता आरोहरण गर्न सकिन्छ कि भनेर दिवासपना बोकेर आउनुभएको छ, तर यो क्षेत्रको जनताले पुरा हुन दिनेछैन । उहाँ न सेवक बन्न सक्नुहुन्छ, न विकासको वाहक बन्नसक्नुहुन्छ ।’

ठुला पार्टीले सधै क्षेत्र नं १ लाई उपेक्षा गर्यो

मेन्याङ्बोले सुनसरी क्षेत्र नं १ लाई ठुला राष्ट्रिय पार्टी हुँ भन्ने पार्टीका नेताहरुले सधै उपेक्षा गरेको पनि बताए । यो क्षेत्रको विकासको लागि धेरै विन्ती विसाउदा पनि अहिलेसम्म विकासको कुनै ठुलो कार्यक्रमहरु प्राप्त गर्न नसकेको भन्दै मेन्याङ्बोले अहिले त झन् ठुला पार्टीका नेता, कार्यकर्ताहरुले आफ्नो नेता चुन्ने अवसर र अधिकार पनि पाउन छोडेको बताए । 

‘माथिका ठला बडा नेताहरुले जे आदेश दिन्छ, त्यही मान्नुपर्ने । जस्तो उम्मेद्वार पठाउछन् मान्नुपर्ने । कसैलाई छोरी बनाएर पठाउँछन्, कसैलाई साथी बनाएर पठाउछन्, कसैलाई गठबन्धन बनाएर पठाउछन्, त्यसलाई मानिदिनुपर्ने,’उनले भने,‘यो व्यहार कसैलाई पनि सह्य छैन । मलाई पनि भएन, त्यसैले गर्दा एमालेको साधारण सदस्य पनि नरहने गरि राजिनामा गरेर निर्वाचनमा खरायो चुनाव चिह्न लिएर आएको छुँ ।’ 

धरानको विकासमा १० बर्ष अहोरात्र खटे

manoj-sava3

धरानका पुर्वमेयरसमेत रहेका मेन्याङ्बोले आफुले १० बर्ष अहोरात्र खटेर धरानको विकासमा योगदान पुर्याएको स्मरण पनि गरे । उनी २०४९ मा २७ बर्षको उमेरमा उपमेयर र २०५४ मा ३३ बर्षको उमेरमा मेयर भएका थिए । 

आफ्नो कार्यकालमा अहोरात्र खटिएर धरानलाई विकासमो गतिमा अघि बढाएको, देशकै नमुना सहर बनाउन सकेको तर आफ्नो कार्यकालपछिका सांसद, मेयरहरुले त्यो विकासको गतिलाई निरन्तरता दिन नसकेको पनि बताए । ‘मेरो कार्यकाल पछि धरानले विकासको गति जुन खालको थियोे, त्यो प्राप्त गर्न सकेन । त्यसैले आज मेरो खाँचो धरानका जनताले गरेका छन्, सिंगो १ नम्बर क्षेत्रबासीहरुले मलाई विकासको बाँगडोर सम्हाल्न जिम्मेवारी दिनुपर्छ भन्नेमा आतुर भएको देखेको छुँ,’उनले भने ।

आफुले जितेमा सडक सञ्जालको विस्तार गर्ने उनले बताए । सडक सञ्जाल मार्फत सहर र गाउँ जोड्ने लिंक रोडहरु, सहरबाट पहाडहरु जोड्ने लिंक रोडहरु व्यवस्थित गरेर मात्र विकास दिगो हुने उनले बताए । ‘म धरानबाट बांगे, धरानबाट बक्लौरी जाने बाटो, कालाबञ्जार जाने बाटोहरु निर्माणमा पहिलो प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्छ । धरानको पहाडी वार्डका सुन्दर छ, ती क्षेत्रहरुमा व्यवस्थित र स्तरीय सडक जोड्ने हो भने ठुलो मात्रामा पर्यटन विकास हुन्छ,’उनले भने ।

मेयर साम्पाङसँगै हातेमालो गरेर खानेपानी समस्या हल गर्छु

manoj-sava4

उम्मेद्वार मेन्याङ्बोले धरानका मेयर हर्क साम्पाङ खानेपानी समस्या समाधान गर्न अहोरात्र खटिएको र उनको कामलाई सलुट गर्ने पनि बताए । तर, मेयर साम्पाङलाई गतिलो सहयोगी र सल्लाहकारको खाँचो रहेको पनि उनले बताए । ‘म सांसद भए भने हामी मिलेर धरानको खानेपानी समस्या समाधनकको लागि अहोरात्र लाग्नसक्छौं । स्रोतहरु खोज्न सक्छौं, समाधानका उपायहरु खोज्न सक्छौं,’उनले भने,‘५बर्षमा खानेपानीको समाधान खोज्न सक्छौं, खानेपानी समाधानको लागि मेयरसँग हातमा हात र काँधमा कमाँध मिलाएर हिड्न तम्तयार भएर आएको छुँ ।’

उनले सुकुम्बासी समास्या समाधान गर्न पहल गर्ने, कोशी बाढी पीडितहरुको समस्या समाधानको लागि पहल गर्ने, सर्दु जलाधार क्षेत्रको नाममा घरजग्गा रोक्का भएर पीडित भएका जनताको समस्या हल गर्न पहल गर्ने पनि उनले बताए । धरानको बसपार्कको बजेट पनि रोकिएकोमा दुःख व्यक्त गर्दैसम्बधित विभाग, मन्त्रालयको ढोका ढकढकाएर टेवल ठटाएर भए पनि बसपार्क निर्माण पुरा गर्ने उनले बताए । 

म थुकेको थुक चाट्दिन, पार्टीमा फर्कन्न 

मेन्याङ्बोले आफु फेरि एमाले पार्टीमा नै नफर्कने प्रष्ट पारे । उनले थुकेको थुक नचाट्ने भन्दै १३ बर्षको उमेरदेखि लागेको पार्टी आफ्नो हुन नसकेको भन्दै त्यही पार्टीमा पुर्नवास हुने कुरा दिवास्वप्न मात्र भएको बताए । ‘म विश्वास दिलाउन चाहन्छु, मनोज मेन्याङ्बो थुकेको थुक चाट्दैन । १३ बर्षको उमेरदेखि लागेको पार्टी मेरो बन्न सकेन, मेरो हुन सकेन भने त्यही पार्टीमा मेरो पुर्नवास पुर्नफिर्ति हुनेकुरा दिवास्वप्न मात्र हो, मबाट सम्भावना छैन,’उनले भने,‘तर सांसद भए भने त्यही एमालेका नेता, कार्यकर्तहरुसँग सहकार्य गर्नेछु, कांग्रेसका नेता, कार्यकर्ताहरुसँग सहकार्य गर्नेछुँ । अन्य राजनीतिक पार्टी, लब्ध प्रतिष्ठिात, सामाजिक संघसंसथा, उद्योग, व्यापराीहरुस्ँग सरसल्लाह गरेर स्वतन्त्र सांसदकोरुपमा काम गर्नेछुँ ।’

manoj-sava2

सांसदमा पनि पार्टीका नेताहरुको ह्विप सहेर विवेकहिन र संवेदनहिन सांसद भएर बस्नुभन्दा एक्लै स्वतन्त्र सांसद भएर सरकार र राज्यले ल्याएको, चलाएको गलत कदमहरुको एक्लै भएपनि विरोध गर्ने र सही कदमहरुको स्वागत गर्ने बताए । यस्तै, उनले जितेर गएमा सांसद विकास कोषको बजेट विगतमा कसरी, कहाँ खर्च भयो भनेर हरेक बर्ष सार्वजनिक गर्ने पनि बताए । साथै, आफु भ्रष्टचार नगर्ने र कसैलाई गर्न पनि नदिने उनले प्रतिवद्धता जनाए । 

उनको चुनावी सभालाई सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटा, पुर्वअध्यक्ष अशोक ताम्राकार, पुर्वउपाध्यक्ष राजकुमार राई, प्राध्यक्षक हरिप्रसाद दाहाल, नेकपा माओवादी केन्द्रका पुर्वकेन्द्रीय सदस्य धर्म खड्का, नेपाली कांग्रेसका प्रेमप्रसाद पराजुलीलगायतले सम्बोधन गरेका थिए । 

भिडियो: