धरान: आइतबार मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । 

मतदानस्थलहरुमा आइतबार हुने निर्वाचनको सबै तयारी भइसकेको धरानस्थित सुनसरी क्षेत्र नं १ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए । उनका अनुसार सबै मतदानस्थलहरुमा मतदान अधिकृतसहितका कर्मचारी, सुरक्षाकर्मीहरु खटिएर आइतबार हुने मतदानको तयारी पुरा गरिएको छ ।

अब मंसिर ४ गते बिहानीको प्रतिक्षा मात्र बाँकी रहेको पनि अधिकृत अर्यालले बताए । ‘सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगेर, सामग्री पुगेर मतदान केन्द्र रेडी भइसक्यो, अब भोली बिहानीको प्रतिक्षा मात्र हो,’अर्यालले भने,‘बिहान समयमै उम्मेद्वारका प्रतिनिधिहरु पुगेर बुथ खोल्ने, खाली मतपेटिका खोलेर राख्ने, सिलबन्दी मतपत्र खोलेर सनाखत गर्ने काम भइपछि ठिक ७ बजे मतदान शुरु हुन्छ ।’

mansir-election1

धरान ८ स्थित शहिद स्मृति माविका मतदान अधिकृतमध्येका एक खगेन्द्रप्रसाद खतिवडाले पनि सबै तयारी पुरा भइसकेको जानकारी दिए । बुथ बनाएर कामको बाडफाड पनि भइसकेको र मतदान कसरी गराउने भने परीक्षण पनि भइसकेको उनले बताए । बिहान ६ बजे राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारका प्रतिनिधिहरु बोलाएको र उनीहरुको उपस्थितिमा मतपत्र खोल्ने, मतपेटिका सिलबन्दी गर्ने र ७ बजेपछि मतदान शुरुवात गर्ने तम्तयार भएर बसेको उनले बताए । 

उनका अनुसार महिला र पुरुषको लाइन रहनेछ भने तेस्रो लाइन भने ज्येष्ठ नागरिक, अशक्त, सुत्केरी महिला, विरामीहरुको लागि छुट्टै व्यवस्था गरिएको छ । ह्विलचियर हिड्न मिल्ने गरि तयारी गरिएको उनले बताए । 

मतदान गर्दा ध्यान दिनुपर्ने कुरा

mansir-election

संघका प्रतिनिधि र प्रदेशका प्रतिनिधि चुन्नुपर्ने र ४ वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । ती ४ वटा मतपत्र अलग अलग हो भन्ने मतदाताहरुले बुझ्नुपर्ने पनि खतिवडाले बताए । पहिलो मतपत्र लिएपछि प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेद्वारको लागि दिने मत हो भनेर बुझ्नुपर्ने उनले बताए । दोस्रो मतपत्र प्रतिनिधिसभाको समानुपातिकतर्फको लागि भोट हाल्नुपर्ने हुन्छ, र त्यो दलको लागि भोट हाल्नुपर्ने उनले बताए । 

तेस्रो मतपत्र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेद्वारलाई मतदान गर्नुपर्ने हुन्छ भने चौथो मतपत्र प्रदेशसभाको समानुपातिकतर्फ दललाई मतदान गर्नुपर्ने हुन्छ । ‘हामी नझुक्किकन पहिलो भनेको संघको प्रत्यक्ष उम्मेद्वारालई हाल्छौं, दोस्रो राजनीतिक दललाई हाल्छौं, तेस्रो भनेको प्रदेशको प्रत्यक्ष उम्मेद्वारलाई हाल्छौं, र चौथो भनेको प्रदेशको समानुपातिककोरुपमा दललाई भोट हाल्छौं भनेर सम्झिनुपर्छ,’उनले भने, ‘त्यही अनुसार नअलमलिइकन, नहडबडाईकन आफुले चाहेको चुनाव चिह्न एक मात्र स्वास्तिक छाप हानेर लतपत नहुने गरि पट्याएर बक्सामा हाल्नुपर्छ ।’

भिडियो: