धरान: धरान १६ स्थित कृषि विकास बैंकको भवनमा सञ्चालित मालपोत र नापी कार्यालयलाई धरान ६ स्थित पानवारी नसार्न माग गर्दे ज्ञापन पत्र बुझाइएको छ । 

संघीय लिम्बुवान मञ्च नेपालको सुनसरी जिल्ला र धरान उपमहानगर कार्यसमितिले आइतबार मालपोत र नापी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । ती दुई कार्यालयसँगै उनीहरुले गृहमन्त्रालय, भुमी व्यवस्था सहकारी तथा गरिबी निवरण मन्त्रालय, प्रदेश प्रमुखसहित विभिन्न दर्जन बढी निकाय र संघसंस्थाहरुलाई पनि उक्त ज्ञापन पत्रको बोधार्थ पठाएका छन् । 

मञ्चले यसअघि पनि विभिन्न निकायहरुमा मालपोत र नापी कार्यालय धरान १६ मा यथावत राख्न माग गरेपनि सुनुवाई नगरिएको भन्दै अब पनि वेवास्ता गरिए आन्दोलन पनि गर्ने चेतावनी दिएको छ । इनरुवामा रहेको मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णय अनुसार २०७२ मा धरानमा कार्यालय स्थापना गरिएको थियो । उक्त समयदेखि हालसम्म धरान १६ मा कृषि विकास बैंकको भवनमा भाडा रहदै आएको छ । 

malpot1

२०७३ मा मालपोत र नापी कार्यालयको लागि धरान ६ पानवारीमा स्थानीय जग्गा उपलब्ध गराए पछि स्थानान्तरणको प्रक्रिया अघि बढेको थियो । अहिले उक्त स्थानमा मालपोत र नापी दुवैको भवन निर्माण भइसकेको छ । मञ्चले भने सो क्षेत्रमा भुमाफियाहरुको चंगुलमा परेर तत्कालिन मालपोत प्रमुख भिम गौतम र नापी प्रमुख कृष्ण न्यौपानेले एक एक कट्ठा जग्गा लिएर कार्यालय सार्ने निर्णयलाई अघि बढाएको पनि आरोप लगाएको छ । मञ्चका जिल्ला अध्यक्ष अमर इजमले गौतम र न्यौपानेले आफ्नो नाममा जग्गा नराखे पनि क कस्को नाममा लिएका थिए भन्ने प्रमाण रहेको दाबी गरेका छन् ।

दैनिक करोडौं रुपैया लेनदेन हुने भएकोले पानवारी असुरक्षित हुने र पायक पनि नहुने मञ्चको दाबी छ । हाल रहेको कृषि विकास बैंकको भवनलाई स्वामित्व हस्तान्तरण गरेर मालपोत, नापीलाई स्थायीरुपमा राख्न सकिने र पानवारीमा अन्य विभिन्न कार्यालयहरु राख्न सकिने मञ्चको भनाई छ । 

भिडियो: