धरान: मेयर हर्क साम्पाङविरुद्ध आन्दोलनमा उत्रिएका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई साथ दिदै आइतबार राजनीतिक दलहरुले धरान १५ स्थित चुम्लुङ हिममा वृहत कार्यकर्ता भेला आयोजना गरेको थियो । 

उक्त भेलामा पुर्वमेयर कुमारबहादुर कार्की, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), एमाले अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोखरेलले सम्बोधन गरेका थिए । मेयर साम्पाङले विधि र प्रक्रिया विरुद्धमा गएर काम गरिरहेकोले बेथिती बढेको र त्यसलाई उजागर गर्न कार्यकर्ता भेला गरेको नेता वक्ताहरुले बताएका छन् । 

पछिल्लो समय मेयर साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले वडामा सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको सुची पठाउन पत्राचार गरेपछि कार्यपालिका बैठकमा चर्को विरोध गरेका थिए । बैठक अघि बढ्न सक्ने अवस्था नभएपछि मेयरले स्थगित गरेका थिए भने बैठकमा अमर्यादित अभिव्यक्ति दिएर बैठक भाँडेको भन्दै वडा १० का अध्यक्षलाई स्पष्टीकरण सोधेका थिए । 

त्यसपछि भने मेयरले वडाअध्यक्षहरुको मानमर्दन गरेको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलनमा छन् । उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् भने राजनीतिक दलहरुले पनि साथ दिदै विज्ञप्ती जारी गरेका थिए भने आइतबार वृहत कार्यकर्ता भेला आयोजना गरेको हो ।

यद्यपी, केही वक्ताहरुले मेयर साम्पाङविरुद्ध भेला गरेको नभै उपमहानगरपालिकाभित्रको बढ्दो बेथिती, गैरकानुनी कामहरुविरुद्ध भएको जिकिर गरेका थिए । राम्रो काममा मेयरलाई साथ दिइरहे पनि लोकतन्त्र, गणतन्त्र स्थापना गर्ने दलहरुविरुद्ध मेयर साम्पाङ केन्द्रीत भएको भन्दै उनीहरुले रोष प्रकट गरेका थिए । 

वडाअध्यक्षहरु नै असन्तुष्ट, भेलामा अनुपस्थित

ward ad

वडाअध्यक्ष र राजनीतिक दलहरु मेयर साम्पाङविरुद्ध आन्दोलित भइरहदा वडाअध्यक्षहरु नै पनि असन्तुष्ट भएका छन् । आइतबार चुम्लुङ हिममा आयोजित वृहत कार्यकर्ता भेलामा पनि केही वडाअध्यक्षहरु नै उपस्थित भएनन् । उक्त भेलामा वडा २०, ११ र १८ का वडाअध्यक्षहरु उपस्थित थिएनन् । तीनै जना नेपाली कांग्रेसबाट निवार्चित हुन् । 

नेपाली कांग्रेस धरान उपमहानगर कमिटीका उपसभापतिसमेत रहेका वडा नम्बर १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले कार्यकर्ता भेलाप्रति असन्तुष्टी जनाउदै बहिष्कार गरे । भेलाप्रति असन्तुष्ट अध्यक्ष राईले आफुले बिहान भएको सर्वदलीय बैठकमा पनि आफ्नो फरक मत राखेको र भेलामा सहभागी नभएको बताए । उनले काम गर्ने व्यक्तिलाई विरोध नभै काम गर्न दिनुपर्ने पनि बताए । ‘म वडाअध्यक्ष र कांग्रेसको संसदीय दलको नेता मात्र होइन, पार्टीको उपसभापति पनि हो । सर्वदलीय बैठकमा पनि यही कुरा राखे । काम गर्ने मान्छेलाई गर्न दिनुपर्छ, सिद्याउने गरि लाग्नुहुदैन,’उनले भने,‘म भेलामा सहभागी हुन सक्दिन भनेको थिएँ, सहभागी पनि भइन ।’

वडाअध्यक्ष राईले मेयरका स्वकीय सचिवले पत्र पठाउनु, मेयरले वडाअध्यक्षलाई स्पष्टीकरण सोध्नु कमजोरी भए पनि सच्याएर लैजानुपर्ने तर सिध्याउने गरि जनप्रतिनिधि र राजनीतिक दलहरु लाग्नु गलत भएको बताए । उनले थपे,‘कमीकमजोरीलाई सच्याएर लैजानुपर्छ, कसैलाई सिध्याउने गरि जानुहुदैन । पार्टीको मात्र कुरा सुन्ने त होइन नि ।’


भिडियो: