धरान: धरानका मेयर हर्क साम्पाङसँग विभिन्न ५ बुँदे माग राख्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले २४ घण्टे अल्टिमेटम दिएका छन् ।

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आइतबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै अल्टिमेटमभित्र माग पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले निरन्तर वडा अध्यक्ष तथा कार्यपालिकाहरुको मानमर्दन गर्ने, अशोभनीय व्यहार गर्ने गरेको साथै पछिल्लो समय योग्यतासमेत नपुगेका सचिवालयका कर्मचारी सुर्दशन लिम्बुले लेटर प्याड दुरुपयोग गर्दै वडाअध्यक्षहरुलाई अवमुल्यन गरेको पनि उनीहरुले बताएका छन् । भर्खर सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई नियम, कानुन विपरीत विभिन्न ७ बुँदे सर्तमा हस्तक्षर गर्न दबाब दिएको पनि उनीहरुले बताएका छन् । 

भिडियो:

वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ मनोमानी, स्वेच्छाचारी र एकल निर्णयका आधारमा चल्न खोजेको पनि आरोप लगाएका छन् । उनीहरुले वडा नं १० का अध्यक्ष विवेक राईलाई झुटो आरोप लगाएर ऐन विपरीत स्पष्टीकरण सोधेको भन्दै मेयर साम्पाङले आत्मालोचना गरि सार्वजनिकरुपमा माफी माग्नुपर्ने माग गरेका छन् । यस्तै, अयोग्य सचिवमार्फत वडाअध्यक्षहरुलाई निर्देशनात्मक पत्राचार गर्न लगाएर आफ्नो पदको दुरुपयोग गरेकोमा आत्मालोचना सहित भुल सुधार गर्नुपर्ने तथा लेटरप्याड, पद र अधिकारको दुरुपयोग गर्ने स्वकिय सचिव सुर्दसन लिम्बुलाई कारबाही गर्नुपर्ने पनि माग राखेका छन् । 

उनीहरुले आफ्नो माग २४ घण्टाभित्र पुरा नगरे चरणवद्धरुपमा सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । मेयर साम्पाङका स्वकीय सचिव भनिएका लिम्बुको योग्यता नपुगेको र उनले स्वकीय सचिव भनेर पद, लेटरप्याड र अधिकारको दुरुपयोग गरेको कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइने पनि कार्यपालिकाका प्रवक्ता एवं वडा १७ का अध्यक्ष मनोज भट्टराईले बताए । 

wada1

wada2