धरान: किरात राई जातिको साकेला उभौली ५०८३ लाई यसपाली कोशी प्रदेश नामङ्कन खारेजीको माग गर्दै मनाइने भएको छ । 

किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीले बिहिबार पत्रकार सम्मेलन गर्दे यस्तो जानकारी दिएको हो । यायोक्खाका कोषाध्यक्ष एवं प्रचार प्रमुख उपेन्द्र चाम्लिङले उभौलीको सन्दर्भमा कोशी प्रदेशको नामङ्कन खारेजीको माग गर्दै पुनः नेपालको प्राचीन सभ्यता एवं बहुपहिचानको आधारमा किरात प्रदेश नामङ्कन हुनुपर्ने माग गर्दै मनाउने बताए । उनका अनुसार भोली बैशाखे पुर्णिमाको दिनदेखि जेठ ६ गतेसम्म जिल्लाभर विभिन्न स्थानमा साकेला सिली प्रर्दशनी कार्यक्रम रहेको छ ।

यायोक्खाका अध्यक्ष राजेन्द्र राईले राजनीतिक दलहरुले चुनावी एजेण्डामा पहिचानसहितको नाम राख्ने भनेको र उम्मेद्वारहरुले पनि प्रतिवद्धता जनाए पनि पहिचानको आधारमा नाम राखिनु दुःखद भएको बताए । यायोक्खाको नेतृत्व विचारको हिसाबले राजनीतिक दलहरुमा आवद्ध भएपनि आफुहरु कोशी प्रदेश नामङ्कन खारेजी हुनुपर्छ भन्ने पक्षमा आन्दोलनमा रहेको बताए । उनले पार्टीहरुले पहिचानको आधारमा नाम नराखेर गल्ती गरेको र त्यस निर्णयविरुद्ध अहिले पहिचानको आन्दोलनमा होमिएको पनि बताए । उनले नेपालको राजतन्त्र सडकबाट उठेको आवाजलाई सम्बोधन गरेर फालिएको उदाहरण दिदै नामकरणको आन्दोलन पनि सफल हुने बताए । 

किरात राईहरुले बर्षको २ पटक साकेला उभौली र उद्यौली चाडलाई धुमधामले मनाउछन् । उभौली बैशाखे पुर्णिमादेखि विधिवत ढोल झ्याम्टा फुकाएर करिब १५ दिनसम्म आगनमा स्याउली गाडेर धुमधामसँग साकेला सिली नाचेर मनाउने गरिन्छ । अन्नबाली लगाउने बेला समय साल राम्रो होस, अन्नवाली सप्रियोस, सह बसोस्, अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख, शान्ति होस् भन्ने कामना गर्दै सिमेभुमे पुजा गरी साकेला नाचिन्छ, यसैलाई नै साकेला उभौली भनिन्छ । यस्तै, अन्नबाली पाकेर घरभित्र्याए पछि घरभित्र गाडिएको पवित्र चुलालाई चढाई आफ्ना पितृहरुलाई पुजा गरि आर्शिवाद मागेर नयाँ अन्नबाली खाने, आफन्तहरु भेला भएर खुशीयाली मनाउने चाडलाई साकेला उद्यौली भनिन्छ । यो चाडलाई मंसिरे पुर्णे अर्थात धान्य पुर्णे पनि भनिन्छ । 

भिडियो: