धरान: धरान डे मनाउने तयारी भइरहेको पब्लिक स्कुलमा कार्यपालिका सदस्य विकास भाटीले महिला पत्रकारलाई मोवाइल खोस्न हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सुनसरीले गम्भीर ध्यानाकर्षण गराएको छ । 

महासंघका सचिव ध्रुव ढकालले प्रेश विज्ञप्ती जारी गर्दै स्टल बनाइरहेको ठाउँमा झगडा हुँदै गरेको बेला रिपोर्टिङका क्रममा भिडियो खिचेको भन्दै कार्यपालिका सदस्य भाटीले हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सार्वजनिक सरोकारका बिषयलाई समाचार बनाउने क्रममा पत्रकारलाई कुनै पनि सार्वजनिक पदाधिकारी व्यक्ति वा सार्वजनिक निकायबाट सहयोग हुनुपर्ने व्यवस्था कानुनले निर्दिष्ट गरेको पनि विज्ञप्तीमा उल्लेख छ । ‘त्यसलाई बेवास्ता गर्दै कार्यपालिका सदस्य भाटीबाट प्रधानमाथि भएको सो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ विज्ञप्तीमा भनिएको छ ।

साथै, विज्ञप्तीमा महासंघ जिल्ला शाखा घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याएर संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ । यसैगरि, क्रियाशिल पत्रकार महिला सुनसरीले पनि विज्ञप्ती जारी गर्दै उक्त घटनाको भत्र्सना गरेको छ भने प्रेस सेन्टर नेपाल जिल्ला शाखाले पनि विज्ञप्ती जारी गर्दै जनप्रतिनिधिबाट पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको जनाएको छ । साथै, निर्वाधरुपमा कार्यक्षेत्रमा काम गर्ने वातावरण बनाउन पनि माग गरेको छ । पत्रकार प्रधान कपुरीन्युज अनलाइनमा आवद्ध छिन् ।

 घटना के भएको थियो ?

पत्रकार प्रधानका अनुसार उनी धरान डे तयारी भइरहेको पब्लिक स्कुलको मैदानमा पुग्दा मेयर, उपमेयरका सचिवालय, आर्थिक महाशाखा प्रमुख भक्तिराज शर्मासँग कार्यपालिका सदस्य विकास भाटीको झगडा भइरहेको थियो । भाटीले आफु संयोजक भएकोले आफ्नो निर्णय लागु हुने भन्दै कराइरहेका थिए । उनी एमालेबाट निवार्चित कार्यपालिका सदस्य हुन् । त्यहाँ युवा संघआवद्ध रतन लिम्बुसहितका युवाहरु पनि थिए ।

उनीहरुको झगडा नियालीरहेको बेला भाटीले भिडियो किन खिचेको भन्दै हातबाट मोवाइल खोसेको पत्रकार प्रधानले बताइन् । ‘त्यसपछि रतन लिम्बुले कालो चस्मा लगाएर उभिएको छुँ, चिन्दैनस भनेर धम्क्याउदै यसलाई ठोक भनेर उसको केटाहरुलाई निर्देशन दियो,’ प्रधानले भनिन्,‘त्यसपछि चै मैले यो सार्वजनिक सरोकारको बिषयमा सार्वजनिक पद धारण गरेको मान्छे झगडा गर्दा किन खिच्न हुदैन भनेर प्रतिवाद गरे ।’ 

झगडा भइरहेको स्थानमा अर्कां कार्यपालिका सदस्य विनिता बज्रचार्य पनि थिइन् । उनले बहिनी पत्रकार हो भनेको र त्यसपछि भाटीसहित झगडा गर्नेहरु नगरपालिकामै गएर छलफल गरौं भनेर हिडेको पनि पत्रकार प्रधानले बताइन् । 

press

press1

press2