धरान: दशैंको बेला धरान वडा नं ६ सुचना वस्ती (पहिलाको नाम सुन्दर वस्ती) का बासिन्दाहरु पनि खुशी थिए । खोला किनारको सुकुम्बासी बस्तीमै भएपनि केहीले घर रंगरोगन गर्दै थिए । 

हिजो (बुधबार) राती अबिरल बर्षासँगै आएको बाढीले भने यो बस्तीको १५ घर परिवारको खुशी लुटेको छ । फुलपाती भित्र्याउने दिन दशैं होइन, यो वस्तीमा दशा आइलाग्यो । राती सेहरा खोलामा आएको बाढीले गत बर्ष मात्र प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको बाँध फुटाएर खोला वस्तीतिर पस्यो । रातभरि वस्तीबासी ज्यान जोगाउन र घरभित्रको सामान बाहिर निकाल्न खटिए । सामान त जसोतसो बगाउनबाट जोगाए, तर खुल्ला मैदानमा राख्नुपरेकोले सबै भिजेका छन् । 

sehara8 copy

बाढीले एक जना महिलालाई बगाएर घाइते बनाएको छ । उनी ग्याबिन जालीमा समातेर ढिस्कोमा चढ्न सफल भएर जोगिएकी थिइन् । अहिले पनि उनलाई रातीको घटनाले झस्काइरहन्छ । प्रहरीका अनुसार राजकुमार तामाङ, कमला परियार, शम्भु मगर, शोभा लिम्बु र कल्पना राईको घरमा क्षति पुगेको छ । अन्य १० परिवारको घर भने मर्मत र सरसफाई गरेर बस्न सकिने अवस्थामा रहेको छ । 

राती पानीले खाद्यान्नसमेत भिजेर नष्ट भएकोले वडा नं ६ को कार्यालयले बिहिबार चामल, दाल, तरकारीलगायत सामग्री वस्तीमा वितरण गरेको थियो । वडाकी दलित महिला सदस्य तथा कार्यपालिका सदस्यसमेत रहेकी देविका विकले वडा कार्यालय र वडाअध्यक्ष भुपेन्द्र भट्टराईले व्यक्तिगतसमेत पैसा हालेर तत्काल आवश्यक खाद्यान्न वितरण गरिएको बताइन् । उपमहानगरपालिकाको जेसिबि मगाएर बाँध फुटेको स्थानमा मर्मत गर्न पहल भइरहेको पनि उनले बताइन् । 

भिडियो:

रातीको घटनाबारे स्थानीयले बिहान मात्र वडाका जनप्रतिनिधिलाई खबर गरेका थिए । त्यसपछि मात्र प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । पानवारी वन समुहका अध्यक्ष भुपाल राईले वन समितिको भवनमा अस्थायीरुपमा बस्न आग्रह गरेपनि पीडितहरुले घर नजिकै बस्न चाहना राखेपछि वस्ती नजिकै त्रिपाल टागेर राख्ने तयारी भइरहेको बताए ।

साथै उनले रेडक्रसलाई पनि राहतको लागी जानकारी गराएको र उपमहानगरपालिकाका कार्यवाहक मेयर लोकेन्द्र फागोलाई पनि निरीक्षण गराएको बताए । ‘यहाँको १५ घरका सबैलाई सार्न खोजेका थियौं, तर उहाँहरुले यही त्रिपाल टाँगेर बस्ने भन्नुभएकोले त्यो व्यवस्था गर्दैछौं,’उनले भने,‘यही नजिकै हुँदा घर हेर्न र सर्न पनि सहज हुने भन्ने उहाँहरुको कुरा छ । मौषम त्यस्तै भयो भने विकल्पमा सामुदायिक वनमा स्थानान्तरण गराउछौं ।’

sehara9 copy

sehara5 copy
sehara1 copy
sehara6 copy