धरान: ऐतिहासिक पुरात्तात्विकस्थल बुद्धिकर्ण दरबार परिसरमा निर्माण गरिएको वाबुको प्रतिमा तोडफोड गर्नेलाई कारबाही गर्न किरात राई यायोक्खा धरान उपमहानगर कार्यसमितिले माग गरेको छ । 

यायोक्खाको धरान कमिटीका पदाधिकारीसँगै जिल्ला अध्यक्ष राजेन्द्र राई, प्रदेश कमिटीका सचिव राम माण्डुपा राईसहितको टोलीले बुधबार इलाका प्रशासनमा  ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माग गरेको हो । साथै, यायोक्खाले इलाका प्रहरी कार्यालयमा अनुसन्धान गरि कारबाहीको लागि निवेदनसमेत दिएको छ । 

राई समुदायको आस्था एवं पहिचानको प्रतिक वाबुको प्रतिमा धरान १४ स्थित ऐतिहासिक किरात दरबार क्षेत्रमा २ ठाउँमा स्थापना गरिएको थियो । केही दिनअघि ती प्रतिमालाई तोडफोड भएको छ । यायोक्खा धरानका सचिव गीता राईले अपराधजन्य र दण्डनीय कार्य गर्ने व्यक्तिहरुलाई तत्काल खोजी गरेर आवश्यक कारबाही गर्न इलाका प्रशासनको ध्यानाकर्षण गराएको र प्रहरीमा कारबाहीको लागि निवेदन दिइएको बताइन् । उनले वाबुको सुरक्षा प्रबन्ध गर्न पनि प्रहरी प्रशासनमा मागसमेत गरेको बताइन् ।

wabu1 copy

यायोक्खा प्रदेश सचिव राम माण्डुपाले सुनियोजितरुपमा किरात राईहरुको आस्थाको धरोहर वाबुमाथि आक्रमण भएको बताए । उनले कानुनी उपचार खोज्ने भन्दै साउन २२ गते यायोक्खाको स्थापना दिवसमा पुर्नमर्मत सम्भार वा पुर्नस्थापना गर्ने उनले बताए । ‘फेरि यस्तो घटना दोहोरिए कडारुपमा प्रस्तुत हुन्छौं,’ उनले भने ।

यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राईले अर्धचेत भएका व्यक्तिहरुले तोडफोड भएको महशुस गरेको बताए । किरात राईहरुको आस्थामाथि प्रहार भएको भन्दै उनले कानुन वमोजिम कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरिएको बताए । 

धरानका डिएसपी प्रकाश जबेगुले तत्काल विजयपुरस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्जलाई फोन गरेर घटनास्थल क्षेत्रमा सुरक्षा निगरानी बढाउन निर्देशन दिएका थिए ।