धरान: बुद्धचोकको नामले परिचित धरान १८ को मुख्य चोकमा किरात साँस्कृति झल्काउने कलात्मक वाबुको प्रतिमा निर्माण गरिने भएको छ ।

आइतबार एक समारोहबीच धरानका मेयर तिलक राईले शिलान्यास गरेका छन् । बुद्धचोक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको मुख्य चोक हो । धरानका मेयर राईको घर पनि यही चोकमा छ । वाबु किरातहरुको हरेक साँस्कृतिक कार्यमा प्रयोग हुने सामग्री हो । वडा नं १८ को बजेट र स्थानीय स्वर्गीय नरप्रसाद राई(ढाकबहादुर राई)को स्मृतिमा उनको परिवारको सहयोगमा वाबु निर्माण हुन लागेको हो ।

मेयर राईले साँस्कृति प्रर्वद्धनसँगै पर्यटन विकास पनि हुने भएकोले वाबुको प्रतिमा निर्माण गरिन लागेको बताए । ‘पर्यटनलाई साँस्कृतिकरुपमा पनि ढाल्नुपर्छ भनेर किराती परम्परा र सभ्यता अनुसार पवित्र सामग्री वाबुको प्रतिभा कलात्मक ढंगबाट बनाउन लागिएको हो,’मेयर राईले भने,‘ट्राफिक आइल्याण्ड, प्रर्यटन प्रर्वद्धन र साँस्कृतिक संरक्षणको पनि काम हुन्छ ।’ उनका अनुसार शिलान्यास हिन्दु सँस्कृति अनुसार गरिएको छ भने आगामी बैशाखमा किराती सँस्कृतिअनुसार वाबुको उद्घाटन गरिनेछ ।

budha-chowk1

वडाअध्यक्ष प्रविण राईका अनुसार वडाको ८ लाख बजेट र स्वर्गीय राईकी श्रीमति दुर्गामाया, छोरीहरु आशा राई, कुमारी राई, पञ्चकला राई र शकुन्तला राईबाट ५ लाख ५१ हजार गरी कुल १३ लाख ५१ हजारमा वाबु निर्माण गरिन लागेको हो । धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार भविष्यमा भत्काउन नपर्ने गरी वाबु निर्माण गरिनेछ । कम्तीमा ७२ फिटको सडकको बीचमा रहने गरी वाबु निर्माण हुने उनले बताए । उपमहानगर कार्यपालिका बैठकले धरान चतरा सडकको मापदण्ड ७२ फिट रहने निर्णय गरेको छ ।

बेसमा 'रिलिफ आर्ट' बनाइने

वाबुको प्रतिमा धरानका कलाकार महेन्द्र राईले डिजाइन गरेका हुन् । उनका अनुसार वाबुको बेसमा रिलिफ आर्ट पनि बनाइनेछ । बेसमा ६ वटा रिरिफ आर्ट हुने उनले बताए । ‘बेसमा ६ वटा भाग हुन्छ, प्रत्येकमा साँस्कृतिक रिलिफ आर्ट हुन्छ,’कलाकार राईले भने,‘एउटामा यलम्बर, एउटामा सुम्निमा पारुहाङ, एउटामा साकेला नाच, एउटामा च्याब्रुङ नाच, एउटामा ढोल झ्याम्टा र सिलिमा पोमी र एउटामा बुद्धको अर्धमुर्ति रहन्छ ।’

budha-chowk2