धरान: जेनजी आन्दोलनको नाम गरेर अराजकता मच्याउने समुह सक्रिय भएपछि सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

नेपाली सेनाले एक सुचना जारी गर्दै मंगलबार राती १० बजेपछि नेपाली सेना परिचालन भएको जानकारी दिएको हो । नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण लिन भदौ २४ गते राती १० बजेबाट दृढ रहने प्रतिवद्धता जनाउदै सहयोगको अपिल पनि गरेको छ ।योसँगै देशभर शान्ति सुरक्षा कायम गराउन सेना परिचालन भएको छ ।

मंगलबार दिनभर पार्टी कार्यालय, राजनीतिक दलका नेताहरुको घर लक्षित गरेर तोडफोड र आगजनी साथै व्यवसायिक भवनहरु लुटपाट, तोडफोड, आगजनी भएपछि राती १० बजेदेखि सेना ब्यारेकबाट बाहिर निस्केको हो । धरानमा पनि तोडफोड र आगजनीको घटना बढेपछि नेपाली सेना सुरक्षा कायम गराउन सडकमा निस्केको छ।

सेनाले केही समुहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पपित्त समेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेकोले यसकिसिमको गतिविधि नगर्न, नगराउन आग्रह गरेको छ ।  

प्रधानसेनापति अशोकराज सिग्देलले भिडियो सन्देश जारी गर्दै राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएकोले आन्दोलनका कार्यक्रमहरु स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गरेका छन् । उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।’

army