धरान: सचेत नागरिक समुह धरान १७ ले एक ठाउँमा मात्र साँस्कृतिक देउसी कार्यक्रम गरेर उठेको रकम राष्ट्र पुर्ननिर्माणमा योगदान गर्ने भएको छ ।
समुहले आइतबार पत्रकार सम्मेलन गर्दै कार्तिक ५ गते रेल्वे चोकमा साँस्कृतिक देउसी कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो । समुहका संयोजक दयाराम थापाका अनुसार देउसी कार्यक्रम रेल्वे चोकमा मात्र आयोजना हुनेछ । उक्त कार्यक्रमबाट उठेको रकम गत भदौ २३ र २४ गते जेनजी आन्दोलनले ध्वस्त भएको भौतिक संरचना पुनःनिर्माणमा सहयोग गरिने पनि उनले बताए ।
संयोजक थापाले भने,‘साँस्कृतिक देउसीबाट संकलित रकम सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोलेको खाता नम्बरमा भौतिक पुर्वाधार पुननिर्माण कोषमा जम्मा गर्नेछौं ।’ यो समुह २०७७ सालको चैत दोस्रो सातातिर सामाजिक दायित्व पुरा गर्ने उद्देश्यले गठन भएको थियो । त्यसबेला कोरोना महामारीको बेला थियो, र बजार, पसल बन्द हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याइएका कोरोना संक्रमितका आफन्त, कुरुवाहरुले खानासमेत पाएका थिएनन् ।
धरान १७ का अगुवा व्यक्तिहरु मिलेर त्यसबेला ४६ दिनसम्म निरन्तर बिहान र बेलुका कोरोना संक्रमितका आफन्त, कुरुवाहरुलाई खाना खुवाएका थिए । कोरोनाको बेला खाना तथा खाद्यान्न वितरण, होल्डिङ सेन्टरमा रहेकाहरुलाई मानवीय सहयोग, क्वारेन्टाइन व्यवस्थापन पनि गरेको थियो । यसरी शुरुवात भएको समुहले सामाजिक अभियानलाई निरन्तरता दिदै आएको छ । समुह हालसम्म दर्ता विना रहेको र अब भने दर्ता गर्ने प्रक्रियामा रहेको पनि संयोजक थापाले जानकारी दिए ।
गत बर्ष पनि समुहले तिहारमा एक दिन साँस्कृतिक देउसी कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट उठेको २ लाख ५ हजार रुपैया काठमाण्डौं उपत्यकालगायत देशैभरि बाढीपहिरोले धनजनको क्षति पुर्याएको सहयोगार्थ सरकारको राहत कोषमा इलाका प्रशासन कार्यालयमार्फत समुहले सहयोग गरेको थियो ।
साँस्कृतिक देउसी कार्यक्रममा धरान १७ वडा कार्यालयको पनि सहकार्य रहने जनाएको छ । वडा कार्यालय र जनप्रतिनिधिहरुले पनि देउसी कार्यक्रममा भौतिक, नैतिकरुपमा सहयोग गर्ने वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले बताए । उनले समुहको देउसी कार्यक्रमलाई वडा कार्यालय सहयोग गर्न नमिले पनि व्यक्तिगतरुपमा आर्थिक सहयोग गर्ने बताए ।