हङकङ: हङकङ एकिकृत नेपाली समाज (हिन्स)को बोर्ड अफ डाइरेक्टरको अध्यक्ष पदमा बिनय शाह चयन भएका छन् ।
समाजको पाँचौं बार्षिक साधारण सभाले शाहललाई सर्वसम्मतरुपमा निवार्चित गरेको हो । शाह हिन्सको स्थापनाकालदेखि नै सक्रियरुपमा आवद्ध रहेका छन् । दोस्रो बार्षिक साधारण सभाबाट पनि अध्यक्ष पदमा निर्वाचित भएका उनले संस्थालाई एकतावद्ध र सशक्त बनाउन उल्लेखनीय योगदान पुर्याएका छन् ।
साधारणसभामा सहभागी सदस्यहरुले शाहको नेतृत्वमा हिन्सले अझै व्यापक कार्यक्रमहरु गर्ने विश्वास व्यक्त गरेका छन् । हङकङमा नेपाली समाजलाई एकताबद्ध गर्दै सांस्कृतिक, सामाजिक तथा शैक्षिक गतिविधिहरूलाई अघि बढाउने उद्देश्यले संस्था स्थापना भएको हो । यो संस्थाले केही महिनाअघि वृहत नेपाल फेष्ट कार्यक्रम आयोजना गरेको थियो ।
अध्यक्षमा निवार्चित शाहले निवर्तमान अध्यक्ष अधिराज राई, पूर्वअध्यक्षहरू दुर्गा गुरुङ, सिताराम ढुंगाना, कार्यसमिति सदस्यहरु, डाइरेक्टर, सल्लाहकार तथा संरक्षकहरुको संस्थामा ठुलो योगादन रहेको भन्दै अभार प्रकट गरे । 'तपाईंहरूको त्याग, समर्पण र प्रेरणाले नै आज संस्थालाई हङकङेली नेपालीहरूको आफ्नै गौरवपूर्ण संस्थाको रूपमा स्थापित गरेको छ,' उनले भने, 'म यस यात्रालाई अझै दृढताका साथ अघि बढाउने प्रण गर्दछुँ, हाम्रो संस्था केवल नाम मात्र नभई हरेक नेपालीको आत्मीयता, एकता र पहिचानको प्रतीक बन्न सकोस् भन्ने चाहन्छु ।'
हिन्सको अध्यक्षमा शाह निवार्चित भएकोमा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य विकास भाटीले शुभकामना व्यक्त गरेका छन् । क्लिकधरानसँग कुरा गर्दै भाटीले भने, 'उहाँहरुको यो संस्थाले हङकङमा नेपालीहरुको अहिलेसम्मकै ठुलो साँस्कृतिक कार्यक्रम नेपाल फेष्ट आयोजना गरेर हामीलाई पनि निमन्त्रणा गरेको थियो । नेपाली समाजमा यो संस्थाले ठुलो योगदान पुर्याएको छ, र यो संस्थाको अध्यक्षमा विनय शाह ज्यु निवार्चित हुनुभएकोले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।'







