धरान: सातौं कोशी प्रदेश अन्तर विद्यालय डिआईजिपी रनिङ कपको तेस्रो दिन दुई खेलहरु सम्पन्न भएको छ ।

धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा दिल्ली पब्लिक सेकेन्डरी स्कुल विराटनगर विजयी भएको छ । दिल्ली पब्लिकले बाल्मिकी एजुकेशन फाउण्डेशन विर्तामोड, झापालाई १-० गोलको झिनो अन्तरले पराजित गर्यो ।

खेलको एक मात्र निर्णायक गोल दिल्ली पब्लिकका जर्सी नं. १७ का अमन खवासले गरेका थिए । उनी नै खेलको म्यान अफ दि म्याग्दी घोषित हुँदै नगद एक हजार पाँच रुपैया र मेडल हात पारे । उनलाई प्रमुख अतिथि प्रहरी बरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयालबाट मेडल तथा नगद प्रदान गरिएको थियो । साथै, बाल्मिकी एजुकेशन फाउण्डेशन स्कुललाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

20251226_225456

यसैगरी, शुक्रबार नै भएको दोस्रो खेलमा प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरान विजयी भएको छ । प्रभातले सैनिक आवासीय महाविद्यालय धरानलाई २-० गोल अन्तरले पराजित गर्‍यो । प्रभातको जीतमा जर्सी नम्बर १७ का भुवन भण्डारी नायक सावित भए । उनले पहिलो हाफको १५ औं र इन्जुरी समयमा गोल गरेका थिए । 

खेलको म्यान अफ दि म्याच पनि भुवन घोषित हुँदै नगद एक हजार पाँच र मेडल पुरस्कर पाए । उनलाई  प्रमुख अतिथि एवं प्रहरी बरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयालले मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

20251226_225425

यस्तै, प्रतियोगितामा सहभागी सैनिक आवासीय महाविद्यालय धरानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङद्वारा सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा शनिबार पहिलो खेल आदर्श इङ्लिस स्कुल मोरङ र सिद्धार्थ सेकेण्डरी स्कुल मोरङबीच दिउँसो १ बजे हुनेछ भने दोस्रो खेल माउण्ट हर्मन एकेडेमी धरान र सफल सिद्धार्थ एकेडेमी मोरङबीच दिउँसो २ बजेर ३० मिनेटमा हुनेछ ।