धरान: धरान खानेपानी व्यवस्थापन बोर्डको लगानीमा निर्माण सम्पन्न भएको ३० लाख लिटर क्षमताको पानीट्यांकी उद्घाटन गरिएको छ । 

धरान २० स्थित सर्दु किनारमा मंगलबार खानेपानी बोर्डका अध्यक्ष एवं नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले रिबन काटेर उद्घाटन गरेका थिए भने पानीको भल्व खोलेर उक्त ट्यांकीको पानी सुम्निमा सिस्टममा पठाएका थिए । उक्त ठाउँमा श्रमदान मार्फत रिचार्ज पोखरी बनाउने योजना साम्पाङले शुरुवात गरेका थिए । तर, पछि खानेपानी बोर्डमार्फत ठेक्का आह्वान गरेर ट्यांकी निर्माण गरिएको हो । 

यो ट्यांकी धरानमा अहिलेसम्मकै ठुलो क्षमताको हो । उक्त ट्यांकी दिपादिल बिजेन जेभीले निर्माण गरेको हो । बर्षाको बेला बाढी आएर २ महिना काम अवरुद्ध भएको कारण ३ महिना म्याद थप गरेर उक्त कम्पनीले निर्माण कार्य सकेको जनाएको छ । ट्यांकी निर्माणमा भ्याट र प्रोविजनल समबाहेक लागत अनुमान ५ करोड २० लाख ९२ हजार ३७१ रुपैया गरिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए । हाल हिसाब गर्दा भ्याट र प्रोविजनल समबाहेक ४ करोड ९१ लाख ६५ हजार ७३६ रुपैयामा सम्पन्न भएको उनले जानकारी दिए । 

water4

उक्त ठाउँमा ट्यांकी बनाउन ठेक्का लाग्नुभन्दा अघि श्रमदानको पनि काम भएको र श्रमदानको कामलाई मुल्यांकन गरेर मुल्य ठेक्का सम्झौताबाट हटाइएको पनि उनले खुलाए । ‘शुरुवातमा यहाँ श्रमदान गरेर गिट्टी कुटिएको थियो, खनिएको पनि थियो । त्यो मुल्यांकन गरेर गिट्टीको मुल्य ठेक्का सम्झौताबाटै हटाएका छौं,’पोखरेलले भने,‘निर्माण कम्पनीले जे जति काम गरेको छ, त्यसको मात्र भुक्तानी दिइएको छ ।’ 

पोखरेलका अनुसार तामाखाममा चुहेको, खेर गएको पानीलाई संकलन गरेर उक्त ट्यांकीमार्फत वितरण शुरु गरिएको छ । ‘अहिले बाहिर चुहिएको, खेर गएको पानी संकलन गरेका छौं, तर यहाँ सिस्टम चै सुक्खा सिजनमा तामाखामबाट आउने पानी ल्याउने गरि बनाएका छौं,’ कार्यकारी निर्देशक पोखरेलले भने,‘यो ट्यांकी बनाएर खेर गएको स्रोतहरुको पहिचान गर्यौं, र पानी ल्याएर निरन्तर वितरण गर्ने वातावरण बनाएका छौं, पानी थपेका छौं ।’ बकेट मेथडबाट पानी नाप्दा दिनको ६,७ लाख लिटर थपिएको पनि उनले बताए । 

इमान्दार प्रयास गरेका छौं: साम्पाङ

water5

नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष साम्पाङले खानेपानी आफ्नो प्रमुख एजेण्डा भएको र उक्त समस्या हल गर्न आफुले इमान्दार प्रयास गरेको बताए । ट्यांकी उद्घाटन पछि मन्तव्यको क्रममा उनले भने,‘इमान्दार प्रयासको फल नै हो, जनताको घरको धारामा पानी आइरहेको छ ।’

३० लाख लिटर क्षमताको ट्यांकी बनाउनुअघि सोही ठाउँमा आफुले रिचार्ज पोखरी बनाउन चाहेको र श्रमदान अभियान गरेको पनि साम्पाङले बताए । तर उक्त ठाउँमा बालुवा मात्र भएकोले रिचार्ज नहुने देखिएपछि बोर्डमार्फत ठेक्का आह्वान गरेर ट्यांकी बनाएको उनले बताए । 

‘खानेपानी समस्या हुनुको विविध कारण मध्ये मुहानको अपर्याप्तता एउटा हो भने अर्को रिजर्ब वेयर नभएर पनि हो । स्रोत थपेर मात्र नहुने रहेछ, पानी स्टक गर्ने ट्यांक पनि आवश्यकता थियो,’ साम्पाङले भने,‘यो ठुलो क्षमताको छ, धेरै अभाव हुँदा यहाँ स्टक भएको पानी विरतण हुन्छ ।’

water1

धरानमा पानीको भुमिगत स्रोतको वितरण प्रणालीमा भने विजुली र मेशिनको समस्याले बेला बेला धेरै संकट आइपर्ने साम्पाङले बताए । ‘लाइन जादा, मेशिन बिग्रदा भुमिगत स्रोतको मात्र भर पर्दा समस्या हुन्छ, तर यहाँबाट ग्राभेटी फ्लोमा नै पानी जान्छ,’ उनले भने,‘मैले जे जति स्रोत थपे, ग्राभेटी फ्लोबाट नै वितरण हुन्छ ।’

उनले खानेपानीमा धेरै सुधार भएको दाबी गर्दै आफ्नो प्रयासमा खानेपानी बोर्डका कर्मचारीहरु, देश विदेशमा रहेका नेपाली जनताको पनि साथ भएकोमा आभार प्रकट गरे । ‘पहिला जस्तो असोजमा ट्यांकर कुद्दैन, यावत प्रयासहरु गरेको छुँ । कर्मचारी र सबैले साथ दिनुभएको छ, इमान्दार प्रयासको फल धरानका जनताको घरको धारामा आइरहेको छ,’ उनले भने । 

भिडियो: