धरान: ट्राफिक प्रहरीले धरानको चिनियाँ चोकमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक महिला गाँजासहित पक्राउ परेकी छिन् ।
बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट खटिएको ट्राफिक प्रहरीले धरान २ चिनियाँचोकबाट महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चेकजाँच गर्ने क्रममा रत्नरोडबाट पुरानो बजार तर्फ आउदै गरेको प्र.१.०२-०४६ प ८९९१ नं. को मोटरसाईकललाई रोक्न खोज्दा चालक भने मोटरसाइकल छोडेर फरार भएका थिए ।
तर, उक्त मोटरसाइकलको पछाडि सवार धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं.७ का ३३ बर्षीया मनमाया लिम्बुको साथबाट गाँजा वरामद भएको प्रहरीले जनाएको छ । उनले बोकेको झोलाबाट ९.३ केजी गाँजा वरामद भएको र उनलाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ । साथै, फरार चालकको खोजी कार्य पनि भइरहेको प्रहरीको भनाई छ ।







