धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक विद्यार्थीले झापामा सिरिञ्ज आक्रमण गरेर हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
देशभरका मेडिकल कलेजका विद्यार्थीहरु साइन्याप्स कार्यक्रममा प्रतिष्ठानमा रमाइरहेको बेला बिहिबार साँझ झापामा यो दुःखद घटना भएको हो । विपी प्रतिष्ठानमा आज (शुक्रबार) साइन्याप्स समापन हुदैछ भने प्रतिष्ठान पनि यो घटनाबाट बेखबर छ । ‘यो घटनाबारे केही जानकारी छैन,’ रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले भने ।
झापा प्रहरीका डिएसपी खगेन्द्र बहादुर खड्का अनुसार भद्रपुर नगरपालिका १० का खेमराज ढकाललाई बिहिबार साँझ करिब साढे ६ बजे सिरिञ्ज आक्रमण भएको थियो । ढकाललाई तत्काल ओमसाई पाथीभारा अस्पतालमा उपचारको लागि लगिएको र राती करिब साढे ७ बजे मृत्यु भएको झापा प्रहरी प्रवक्ता एवं डिएसपी खड्काले बताए ।
सिरिञ्ज आक्रमण गर्ने विपी प्रतिष्ठानका विद्यार्थी दिपेशकुमार सिंह बिहिबार राती नै पक्राउ परिसकेको पनि जानकारी दिए । ‘घर सिरहा र विपी प्रतिष्ठानमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत छुँ भनेका छन्,’ डिएसपी खड्काले भने,‘साँझ खेमराज ढकालको घर सोधपुछ गर्दे गएको र सिरिञ्ज प्रहार गरेको खुलेको छ ।’
सिरिञ्जमा लठ्याउने औषधी हो भनेपनि ल्याब टेष्ट पछि मात्र खुल्ने डिएसपी खड्काले खुलाए । ‘के कारणले आक्रमण भएको हो, अनुसन्धानबाट नै खुल्ला,’ उनले भने ।
दिपेशले मृतकको छोरीलाई एकतर्फी मनपराउथे
विपी प्रतिष्ठान स्रोतका अनुसार मृतककी छोरी पनि प्रतिष्ठानको डेन्टल कलेजमा बिडिएस तेस्रो बर्षमा अध्ययनरत छिन् । दिपेशले एकतर्फी मन पराउने गरेको र मृतकको छोरीले अस्वीकार गरेपछि झापामा गएर उनको बुबालाई नै सिरिञ्ज आक्रमण गरेको प्रतिष्ठान स्रोतको भनाई छ ।
‘केटाले एकतर्फी मनपराउने गरेको रहेछ, तर केहीले मन नपराउने,’ स्रोतले भन्यो,‘त्यही कुरामा हिजो (बिहिबार) होस्टलबाट केटा निस्केर गएर केटीको बाउलाई मारेको हो ।’ दिपेशसँग ३ जना गएको पनि प्रतिष्ठान स्रोतका दाबी छ । उक्त घटनापछि मृतकी छोरी पनि आज बिहानै झापा गएकी छिन् ।
प्रतिष्ठान स्रोतले ३ जना गएको दाबी गरेपनि झापा प्रहरीले भने एक जना मात्र धरानबाट गएर सिरिञ्ज आक्रमण गरेको जनाएको छ । ‘एक जना मात्र आएको खुलेको छ, थप कुरा अनुसन्धानबाट नै खुल्छ,’ डिएसपी खड्काले भने,‘मृतकको छोरीसँग अफेयरको कुरा छैन, सामान्य चिनजान मात्र भएको रहेछ ।’







