युके: धरान समाज यूकेले २८ फेब्रुअरी साँझ ‘फण्ड रेजिङ डिनर नाइट’ कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष निकेश लिम्बुको अध्यक्षतामा अल्डरसटस्थित एम्पायर हलमा आयोजित उक्त कार्यक्रममा करिब दुई सय सहभागी भएका थिए । कार्यक्रममा विभिन्न नृत्य, अक्सन, राफल ड्रका साथै बस्कर्स व्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष राजन लिम्बू रहेका थिए भने समाजका ज्येष्ठ सदस्य तथा सल्लाहकार पदम राई, ह्याम्पसायर पुलिस कन्सटबुलरीका सल्लाहकार शिवजी श्रेष्ठ, जेनजी प्रतिनिधि स्वेता तामाङ एवं सामाजिक अभियन्ता लक्ष्मी राई (लारा) ले मन्तव्यको क्रममा गृह जिल्ला र बेलायतमा समाजले गरेको परोपकारी कार्य एवं गतिविधिहरु प्रशंसनीय रहेको बताए । बेलायतमा बसे पनि मन, मष्तिस्क र दायित्व मातृभूमिकै लागि हुनुपर्ने धारणा समेत वक्ताहले राखेका थिए । 

dharan samaj uk1

समाजका अध्यक्ष लिम्बूले सहभागी सबै आगन्तुक एवं अतिथीहरुप्रति धन्यवाद व्यक्त गर्दै संस्थाको कोष अभिवृद्धि गर्न सके आफैंले केही परोपकारी कार्य गर्ने उद्देश्यसहित ‘फण्ड रेजिङ डिनर नाइट’ गरिएको बताए । उनले विगतमा पनि समाजले धेरै परोपकारी काम गर्दै आएको बताउदै सबै सदस्यहरुको सहयोग र विश्वास नै समाजको शक्ति रहेको पनि धारणा राखे । उनले समाजका सदस्यहरुलाई निरन्तर सहयोगका लागि अनुरोध समेत गरेका थिए।

पहिलो चरणको औपचारिक कार्यक्रम महासचिव बल्लभ गुरुङ र दोश्रो चरणको सांस्कृतिक तथा अन्य कार्यक्रम उपाध्यक्ष पविन राईले सञ्चालन गरेका थिए । कार्यसमितिले धरानमा हालै सम्पन्न भएको २६ औं बुढासुब्बा गोल्डकप आयोजनाको लागि पूर्व अध्यक्ष तथा सल्लाहकार राजु लिम्बूको संयोजकत्वमा ८ लाख ४५ हजार ३४५ संकलन गरेर पठाएको पनि समाजका अध्यक्ष निकेश लिम्बूले जानकारी दिए ।