धरान: सप्तकोशी नदीमा जल यात्रा एवं जल पर्यटनको क्षेत्रमा महत्वपुर्ण रहेको जेटबोट अनिश्चितकालको लागि बन्द भएको छ ।

कमिशन माग्ने र नदिए धम्की दिने गरेको भन्दै सञ्चालकहरुले जेटबोट चलाउन आज बिहिबारदेखि बन्द गरेका हुन् । उनीहरुले सुरक्षाको प्रत्याभुति हुनुपर्ने माग गरेका छन् । व्यवसायीहरुका अनुसार केही दिनअघि बंगलादेशबाट घुम्न आएका १४ जना पर्यटक बोकेको जेटबोटलाई त्रिवेणीमा स्थानीय युवाहरुले गुण्डागर्दी शैलीमा घण्टौं रोकेर राखेका थिए । उनीहरुले कम्पनीहरुबाट कमिसन, बुकिङ काउन्टर, रोजगारी र स्थानीयले निःशुल्क यात्रा गर्न पाउनुपर्ने लगायतको माग राखेका थिए । ती युवाहरुको व्यवहारबाट व्यवसायीसँगै विदेशी पर्यटकहरु पनि आतंकित भएका थिए ।

koshi-jet-boat1

जेटबोटले यो क्षेत्रको पर्यटनमा आकर्षण थपेको थियो भने भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाहरुको भरपर्दो यातायातको साधन पनि थियो । उदयपुर र धनकुटाको केही क्षेत्रका बासिन्दाहरुको जीवन पनि जेटबोटले सहज भएको थियो । सप्तकोशीमा सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एन्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले कुल ७ वटा जेटबोट चलाएको थियो । जेटबोटमा आकर्षण बढेपछि व्यवसायीहरुले करोडौं लगानी गरेका छन् । अहिले असुरक्षा बढेपछि लगानी पनि असुरक्षित भएको नेपाल जल यातायात तथा पर्यटन सेवा प्रालिका सञ्चालक विमलमान श्रेष्ठको भनाई छ । सुरक्षाको ग्यारेन्टी नभएसम्म सञ्चालन नगरिने उनले बताए ।