धरान : गोर्खा सिमेट्रीज ट्रस्ट नेपालको आयोजनामा पाँचौँ गोर्खा ट्रेलब्लेजर-२०८३आगामी माघ २ गते शनिबार हुने भएको छ ।

ट्रस्टले शुक्रबार धरान १८ स्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै उक्त दौडमा ७ सयभन्दा बढीको सहभागिता रहने बताएको हो । 

दौड माघ २ गते बिहान ६:३० बजे धरान १८ स्थित रत्नचोकबाट सुरु भई ब्रिटिस गोर्खा स्मृति पार्क, धरान-२० विष्णुपादुकामा समापन हुने आयोजक ट्रष्ट नेपालका अध्यक्ष महेन्द्र राईले जानकारी दिए । 

प्रतियोगितामा खुल्लातर्फ प्रथम हुने महिला र पुरुषलाई जनही १५ हजार नगद पुरस्कार दिइनेछ भने दोस्रो र तेस्रो हुने महिला पुरुष दुवैलाई जनही नगद १० हजार र ५ हजार नगद पुरस्कार दिईने अध्यक्ष राईले जानकारी दिए । प्रतियोगिताको लागि धरान वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) ले वडाको बजेटबाट १ लाख बजेट विनियोजन गरेको पनि जानकारी दिएका छन् । 

यसरी नै भेट्रान तर्फ महिला पुरुषमा प्रथम हुनेलाई जनही १० हजार, दोस्रो र तेस्रो हुने महिला पुरुषलाई जनही क्रमश नगद ५ हजार र ३ हजार दिइने आयोजकले जनाएको छ ।

mahendra rai

यसपटक सुपर भेट्रान उमेर समूह पनि राखिएको छ । यो स्पर्धामा प्रथम हुनेले नगद ५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ३ हजार र २ हजार पुरस्कार दिइनेछ । भेट्रान र सुपर भेट्रानको पुरस्कार राशी काजि राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा ५० हजार सौजन्य गरेको पनि आयोजक ट्रष्टका अध्यक्ष राईले जानकारी दिए । काजी राई वडा नं १८ का वडाअध्यक्ष प्रविण राईका दाजु हुन् । 

यस्तै, कम उमेर समूह भएका ४ जनालाई १-१ हजारको दरले पुरस्कृत गरिने छ भने सुपर भेट्रानमा महिला या पुरुष मध्ये जो प्रथम हुन्छ, उनलाई थप १ हजार नगद सस्तो मोमो हाउसका सचालक नीर चाम्लिङले प्रदान गर्ने पनि आयोजकले जनाएको छ । विजेताहरुले नगद राशी, मेडलका साथै प्रथम हुनेलाई  ट्रफि खुकुरी पनि दिईने आयोजकले बताएको छ । 

चौथो संस्करणको आयव्यय सार्वजनिक 

आयोजकले चौथो गोर्खा ट्रेलब्लेजर रनको हिसाब पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो । उक्त प्रतियोगितामा आय भन्दा व्यय बढी भएको भुपाल चाम्लिङले जानकारी दिए । 

उनका अनुसार कुल आय आय ७ लाख ८९ हजार ७३५ भएको थियो भने खर्च ९ लाख २९ हजार खर्च भएको थियो । उक्त सँस्करण आयोजना गर्दा आयोजकलाई १ लाख ३९ हजार २६५ घाटा भएको पनि उनले खुलाए । 

खेलाडीलाई सम्मान

trail

पत्रकार सम्मेलनमा दुवईमा भएको एशियन ओपन लेजर रनमा काँस्य पदक विजेता भिमान सिंह तामाङलाई सम्मान गरिएको थियो । धरान १४ निवासी तामाङलाई ट्रष्टका अध्यक्ष महेन्द्र कुमार राई र वडा नं १८ का वडाअध्यक्ष प्रविण राईले खादा, माला र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए ।