एजेन्सी । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको छ ।

स्थानीय भाइव कलेजमा आइटीमा डिप्लोमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञात व्यक्तिले छुरा प्रहार गरेको सेतोपाटीले समाचार प्रकाशन गरेको छ । छुरा प्रहारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको समाचारमा उल्लेख छ । घाइते युवतीको विस्तृत परिचय भने खुलाइएको छैन ।

प्रहरीको सहयोगमा घाइतेलाई रोयल व्रिजवेन महिला अस्पतालमा उपचारका लागि लगिएको थियो। उनलाई सात टाका लगाइएको र खतरामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको थियो । उनी खतरामुक्त रहे पनि मानसिक रूपमा भने समस्यामा परेकी उनकी एक सहपाठीले जानकारी दिएको समाचारमा उल्लेख छ ।

ती युवतीको घर पुग्न बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ । सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले पछाडिबाट आएर छुरा प्रहार गरेको युवतीको भनाइलाई उदृत गर्दै उनकी साथीले जानकारी दिइन् । घटनापश्चात घाइते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए । उनी डेढ वर्ष अघि अस्ट्रेलिया आएकी थिइन् ।