धरान: तीर्थयात्राको लागि भारत गएका सुनसरीका ६ जना तीर्थालुहरुको दुर्घटना परी मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार दुर्घटना सलेम बेंगलरु नेशनल हाइवेमा आज राती भएको हो । नेपाली तीर्थयात्रीहरु मिनीबसमा चढेका थिए । घटनामा अन्य १८ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा २ महिला पनि छन् ।

मृत्यु हुनेहरुमा ५६ बर्षीय गोपाल तामाङ, ६० बर्षीय विष्णु दाहाल, ४६ बर्षीय वीरबहादुर राई, ५० बर्षीय टिकाराम र बेलुकारी चौधरीको नाम खुलेको भारतीय प्रहरीले त्यहाँका सञ्चारमाध्यमहरुलाई जानकारी दिएको छ । दुर्घटना भएको गाडीका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार मृतकहरु सुनसरी जिल्लाका हुन् । तर, उनीहरु सुनसरीको कुन ठाउँमा हुन् भन्ने खुलाइएको छैन ।

नेपालबाट ३४ जनाको टोली तीर्थयात्रामा गएको बताइएको छ । उनीहरु माघ २३ गते सुनसरीको दुहबीबाट ३५ दिनको तीर्थ यात्रामा गएको पनि खुलेको छ । उनीहरु बेंगलरुतर्फ जाँदै गरेका थिए । विश्रामका लागि एउटा मन्दिर नजिकै बस रोकेर बसेको र मध्यरातमा युटर्न लिन खोज्दा राजमार्गमा अर्को बससँग ठोक्किन पुगेको भारतीय प्रहरीको भनाई उदृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।