धरान: विश्वव्यापी बनेको कोरोना भाइरस(कोभिड १९)को संक्रमणको खतरा टरिसकेको छैन । गर्मी मौषम शुरु भएसँगै नेपालमा फेरि डेंगु संक्रमणको खतरा बढेको छ ।

केही भागमा डेंगुका विरामी भेटिएको खबरहरु आइरहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशको विभिन्न स्थानमा ३६ जना डेंगुको विरामी भेटिएको तथ्यांक सार्वजनिक गरिसकेको छ । यसले गर्दा समयमा नै सजग रहन चिकित्सकहरुले आममानिसहरुमा आग्रह गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास साह विरामी भएर उपचार गर्नुभन्दा विरामी हुनै नदिनतर्फ सबैले ध्यान पुर्याउन आग्रह गर्छन् । आफ्नो घर, आँगन र वरपर सरसफाईमा ध्यान दिने तथा पानी जम्न नदिने हो भने डेंगुबाट जोगिने उनले बताए । ‘गर्मी मौषम शुरु भयो, अब लामखुट्टे बढ्छ र डेंगुको जोखिम पनि हुन्छ,’डा.साहले भने,‘सरसफाईमा ध्यान दिनुपर्छ । पानी जम्न दिनु हुदैन, जमेको पानी पोखाउन सकिदैन भने मट्टितेल हाल्नुपर्छ ।’

जमेको पानीमा मट्टितेल छर्किदा लामखुट्टे जन्मन पाउदैन । कसैलाई डेंगु भइहालेमा विरामी एक सातासम्म घरमै झुलभित्र बसेमा डेंगु अरुलाई संक्रमण नहुने पनि डा.साहले बताए । ‘डेंगु भएको व्यक्तिलाई टोकेको लामखुट्टेले अरुलाई टोक्दा डेंगु सर्ने हो, त्यसैले झुलभित्र एक हप्ता जोगिएर बस्नुपर्छ,’उनले भने,‘सबैले अहिलेदेखि नै ध्यान पुर्याउदा डेंगुबाट जोगिन्छौं ।’ सरसफाईमा ध्यान दिने र पानी जम्न नदिने हो भने मेशिनबाट धुँवा छर्नु नपर्ने उनले बताए ।

गत बर्ष धरानमा डेंगु महामारीरुप लिएको थियो । बैशाख अन्तिमबाट देखिएको डेंगु प्रकोप बढ्दै गएर तीन महिनामा नियन्त्रणबाहिर पुगेको थियो । धरानबाट शुरु भएको डेंगुको प्रकोप छिमेकी गाउँ तथा नगरमा पनि देखा परेको थियो । धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले अहिले उपमहानगर कोरोना संक्रमण रोक्नतर्फ केन्द्रीत भएको बताए । कोरोनाबारे अभियान सकेलगत्तै डेंगुबारे पनि ध्यान दिने उनले बताए । ‘हामी कोरोनाबारे विभिन्न कार्यक्रमहरु गर्दैछौं, यो सकेलगत्तै डेंगुप्रति पनि ध्यान दिन्छौं,’उनले भने ।